अमेरिकी रक्षामन्त्री म्याटिसले किन दिए राजीनामा ?

Jim Mattis
लाेकपाटी न्यूज
0 Shares

वासिङटन, ६ पुस । अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त भएको जनाउँदै त्यहाँबाट अमेरिकी फौज हटाउने घोषणा गरेको भोलिपल्टै रक्षामन्त्री म्याटिसले राजीनामा दिएका हुन् ।

सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने अमेरिकी राष्ट्रपतिको घोषणाप्रति अमेरिकाभित्रै र अमेरिकी गठबन्धनका सबै मुलुकले विरोध जनाएका छन् ।

ट्रम्प प्रशासनमा निकै सम्मानित विदेश नीति अधिकारीका रुपमा लिइएका म्याटिसले फेब्रुअरीको अन्त्यबाट पद त्याग्नेछन् । राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरी लेखिएको राजीनामा पत्रमा म्याटिसले ‘आफ्नो विचारसँग निकट व्यक्तिलाई रक्षामन्त्रीमा चुन्न सक्ने अधिकार तपाई (राष्ट्रपति)सँग छ’ उल्लेख गरेका छन् ।

एकजना वरिष्ट अमेरिकी अधिकारीका अनुसार, म्याटिसले आफ्नो राजीनामा पत्र लिएर राष्ट्रपतिलाई भेट्न ह्वाइट हाउस पुगेका थिए र उनले ट्रम्पसँग करिब ४५ मिनेट कुराकानी गरेका थिए ।

ती अधिकारीले भेटका क्रममा दुवै नेताबीच कुनै खास किसिमको विवाद थिएन । तर, म्याटिसले सिरियाबाट अमेरिकी फौज फिर्ता हुने निर्णयमा गम्भीर असहमति राखेको हुनसक्ने उनको भनाइ थियो ।

म्याटिसको राजीनामाले ह्वाइट हाउसभित्र गम्भीर सङ्कट देखिन थालेको भन्दै आलोचना हुन थालेको छ । ट्रम्पका सहयोगीहरुले समेत म्याटिसको राजीनामा अस्वाभाविक रहेको बताएका छन् । राष्ट्रपतिका एक इमान्दार सल्लाहकारको बहिर्गमनले राष्ट्रपतिलाई आगामी दिनमा अझ चुनौती खडा हुने बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्