चासोक तङनाम राष्ट्रिय एकताको प्रतीक हो : प्रधानमन्त्री

kp sharma oli
लाेकपाटी न्यूज

काठमाडौं, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मौलिक संस्कृतिलाई पर्यटक आकर्षण गर्ने पर्वका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

किराँत धर्मावलम्बीहरुको चाड उधौली तथा चासोक तङनामका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् ।

नेपाली संस्कृतिलाई जीवन्त बनाउने विभिन्न समुदायका चाड पर्वहरु पर्यटकीय आकर्षणका केन्द्र हुन सक्ने प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । “विभिन्न जातीय समुदायका चाड पर्वमा प्रयोग हुेन बाजागाजा, नृत्य तथा अन्य गतिविधिहरु स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने सशक्त माध्यम बन्न सक्छन्” प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ ।

नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विभिन्न जातीय समुदायले मनाउने चाड पर्वहरुले आपसी सदभाव र सहिष्णुताको भावना विकास गरेको उल्लेख गरेका छन् । “हाम्रो जातीय, भाषिक र धार्मिक विविधता नै नेपालीलाई एक सुत्रमा बाँध्ने माध्यम भएका छन्, ”प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् ।

मंसिरे पूर्णिमाको दिन खासगरी किराँत राई र सुनुवार जातिले मनाउने उधौली पर्व र लिम्बू जातिले मनाउने चासोक तङनामलाई सरकारले किराँत चाडको रुपमा मान्यता दिएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्

पाकेको अन्नको न्वागी खाने दिनको रुपमा किराँतहरुले मनाउने यस पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत जातिमा प्रधानमन्त्री ओलीले सुस्वास्थ्य र दीर्घायूको शुभकामना पनि व्यक्त गरेका छन् ।