आत्महत्या गरेकी महिलाबाट जन्मियो जीवित शिशु

suicide
लाेकपाटी न्यूज
0 Shares

भारतको मध्यप्रदेशमा एक महिलाले आत्महत्या गर्ने क्रममा बच्चा जन्माएकी छिन्। कटनी जिल्लाकी एक गर्भवती महिलाले आत्महत्या गर्न घाँटीमा पासो लगाएर झुण्डिएकी थिइन्। त्यस क्रममा उनको मृत्यु भइसकेपछि शिशु जन्मिएको र शिशुको अवस्था अहिले सामान्य रहेको बिबिसीले जनाएको छ।

लक्ष्मी सिंह नाम गरेकी महिलाले आत्महत्या गर्नुको कारण भने नखुलेको समाचारमा उल्लेख छ। महिला झुन्डिएको अवस्थामा र बच्चा शालनालमा अड्किएको देखेपछि परिवारले प्रहरी र अस्पतालमा खबर गरेका थिए। ‘हामी घटनास्थल पुग्दा महिला पासो लगाएर झुन्डिरहेकी थिइन् र उनले बच्चा पाइसकेकी थिइन्, इमर्जेन्सी एम्बुलेन्स सेवासँग सम्बद्ध डाक्टर माखनलाल सेनले भने, शालनालमा अड्किएको शिशुलाई हामीले तत्काल आमाबाट अलग गराएर अस्पतालको आइसियुमा भर्ना गरेका छौं।’

उनका अनुसार अहिले शिशुको अवस्था सुधारोन्मुख छ। कटनी सिभिल अस्पतालका सर्जन डाक्टर यशवन्त वर्माका अनुसार महिला ९ महिनाकी गर्भवती रहेको र पासो लगाएर झुण्डिनेबित्तिकै गुरुत्वाकर्षणका कारण शिशु जन्मिएको हो।

‘जब हामी जिउँदो हुन्छौँ हामीले धेरै चिज रोकेर राख्न सक्छौँ, डाक्टर वर्माले भने, तर मृत्युपछि हामी ती चिजहरूमा नियन्त्रण राख्न सक्दैनौँ, यो घटनामा पनि भएको यही हो।’ महिलाका पति सन्तोष सिंहले परिवारमा त्यस्तो कुनै तनाव नरहेकाले आत्हत्याको कारणबारे आफूहरू अनभिज्ञ रहेको बताएको समाचारमा उल्लेख छ।

‘बिहान उठेर हेर्दा ओछ्यानमा नदेखेपछि खोजी गर्न थालेँ, सन्तोषले भने, गाईगोठमा उनी झुण्डिरहेकी थिइन् र बच्चा शालनालमा अड्किरहेको थियो।’

सन्तोषका यसअघि नै दुई छोरा र दुई छोरी छन् र उनकी श्रीमती पाँचौँ बच्चा जन्माउने क्रममा थिइन्। एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्