किसुनजीको आदर्शबाट सिक्नुपर्छ : रामचन्द्र पौडेल

Ram-Chandra-Paudel
लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ, ७ पुस । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृष्णप्रसाद भट्टराईको राजनीतिक जीवनबाट काङ्ग्रेसले पाठ सिक्नुपर्ने बताएका छन् ।

किसुनजी अध्ययन केन्द्रले काङ्ग्रेस नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९५औँ जन्मजयन्तीका अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको ‘मैले चिनेको किसुनजी’ विषयक कार्यक्रममा उनले नेता भट्टराई आफ्नो आदर्शबाट कहिल्यै विचलित नहुने नेता भएको बताए ।

“सत्याग्रही नेता किसुनजीले राजनीतिमा विशिष्ट स्थान बनाउनुभएको थियो,” उनले भने । नेता पौडेलले बहुदलको स्थापनामा किसुनजीको महत्वपूर्ण भूमिका रहेको बताउँदै प्रधानमन्त्री हुँदा पनि सत्ताको दुरुपयोग नगर्ने र लपनछपन नभएको व्यक्ति भट्टराई भएको बताए ।

किसुनजी पार्टी सभापति हुँदा दुःख गरेका व्यक्तिलाई वरिष्ठता हेरेर जिम्मेजारी दिने गरेको उनको भनाइ थियो । काङ्ग्रेस नेता प्रदीप गिरीले पार्टीलाई शीरमा राखेर राजनीतिक गर्ने नेता स्व भट्टराई भएको बताए । “अहिले म भइन भने पार्टी चल्दैन भन्ने प्रवृत्ति काङ्ग्रेसका नेताहरुमा छ, किसुनजी पार्टी भएन भने मेरो अस्तित्व छैन भन्ने व्यक्ति हुनुहुन्थ्यो,” उनले भने ।

विश्वेश्वरप्रसाद कोइरालाको ऐतिहासिक रुपमा मुलुकभर चर्चा भएपनि किसुनजी असल र इमान्दार नेता भएको उनले बताए । “किसुनजी कार्यकर्तालाई माया गर्नुहुन्थ्यो, पार्टीभित्र दुःख गरेका व्यक्तिलाई उचित पद दिनुहुन्थ्यो,” गिरीले भने । केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले किसुनजीमा आर्थिक पारदर्शीता भएको बताए । “नैतिक मूल्य मान्यतामा किसुनजी बस्नुहुन्थ्यो,” उनले भने ।

वरिष्ठ पत्रकार युवराज घिमिरेले किसुनजी पार्टीको नीति विपरीत नजाने व्यक्ति भएको बताए । “किसुनजी आफैँलाई धेरै पत्रकारिताको ज्ञान भएकाले पत्रकारको समस्या सजिलै बुझ्नुहुन्थ्यो,” उनले भने । केन्द्रका अध्यक्ष अविनाश सिलवालले किसुनजीबारे खोज तथा अध्ययन गर्न केन्द्र गठन गरेको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्