पुड्कोपन के हो, कसरी न्यूनिकरण गर्ने ? (टिप्स्)

short couple
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं– नेपालमा उमेर अनुसार पुड्को हुने बालबालिकाको संख्यामा उल्लेख्य सुधार आउँदै गएको छ। विगत २० वर्षको अवधिमा नेपालले पुड्कोपन न्यूनीकरणमा तीव्र गतिमा प्रगति गरेको तथ्यांकले देखाएको छ।

नेपाल जनस्वास्थ्य प्रतिष्ठानले शुक्रबार सार्वजनिक गरेको ‘नेपालमा पुड्कोपना न्यूनिकरणः एक राष्ट्र विशेष अध्ययन’ प्रतिवेदनले नेपाल परिमाणजनक रुपमा पाँच वर्षमुनिको बच्चामा पुड्कोपन न्यूनीकरण गर्न सफल भएको देखाएको छ ।

‘नेपालले विगत २० वर्षमा तिब्र गतिमा र परिमाणजनक रुपमा पाँच वर्षमुनिको बच्चामा पुड्कोपन न्यूनीकरण गर्न सफल भएको छ,’ प्रतिवेदनमा भनिएको छ । सन् १९९६ मा नेपालका ५७ प्रतिशत बालबालिका उमेर अनुसार पुड्का थिए। तर, २० वर्षपछि सन् २०१६ मा आइपुग्दा यो संख्यामा सुधार हुँदै उमेर अनुसार पुड्का बालबालिकाको दर ३६ प्रतिशतमा झरेको छ ।

सन् २००१ को तुलनामा सन् २००६ मा पुड्कोपन १४ प्रतिशतले घटेको थियो । त्यस्तै सन् २००६ को तुलनामा सन् २०११ मा पुड्कोपनमा १६ प्रतिशतले कमी आएको थियो । पछिल्लो पाँच वर्षमा (सन् २०११ देखि २०१६) भने प्रतिशतका आधारमा पुड्कोपन घट्ने दर १२ प्रतिशतले झरेको छ ।

‘सन् १९९६ मा ५७ प्रतिशत रहेको अवस्थालाई सुदृढिकरण गर्दै सन् २०१६ मा ३६ प्रतिशतमा झार्न सक्नुले नेपाललाई विश्वमा नै उदाहरणीय मानिएको छ,’ प्रतिष्ठानले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ, ‘विभिन्न अप्ठ्यारा र चुनौतिको बाबजुद पनि नेपालले यो उल्लखनीय उपलब्धि हासिल गरेको हो।’

प्रतिवेदनका विषयमा जानकारी दिन आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा महेश मास्केले नेपालमा पुड्कोपन घटाउन भूमिका खेलेका कारणहरुको विषयमा अध्ययन गरिएको जानकारी दिए। ‘अध्ययनमा थुप्रै कारणहरु पत्ता लागेका छन्,’ उनले भने, ‘यी कारणहरुको खोजिले दीगो विकास लक्ष्य हासिल गर्न मद्धत पुग्नेछ।’

पोषणका क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि काम गर्दै आइरहेका बरिष्ठ बाल रोग विशेषज्ञ डा. रमेशकान्त अधिकारीले पोषणमा आएको सुधारसँगै पुड्कोपन घट्दै गएको बताए। उनका अनुसार सन् १९७५ मा नेपालका ७० प्रतिशत बालबालिका उमेर अनुसार पुड्का थिए।

‘बालबालिकामा देखिएको पुड्कोपनको प्रमुख कारण कुपोषण नै हो’ डा अधिकारीले भने, ‘यो अवधिमा पुड्कोपनमा आएको यो सुधारलाई सकारात्मक रुपमा लिनुपर्छ र सुधारको गतिलाई थप बढाउनु पर्छ।’ उनका अनुसार पुड्कोपनको समस्या तुलनात्मक रुपमा ग्रामीण भेगका बालबालिकामा घट्न सकेको छैन । ‘गर्भधारणदेखि दुई वर्षको अवधिमा बालबालिकामा पुड्कोपनको बीजारोपण हुन्छ, जसलाई निवारण गर्न सकिन्छ,’ उनी भन्छन्, ‘समयमा पोषिलो खान नखुवाउने हो भने पछि बालबालिकालाई अग्लो बनाउन सम्भव हुँदैन । त्यसकारण पोषणका कार्यक्रमलाई देशका दूरदराजसम्म लैजानुपर्छ ।’

राष्ट्रिय योजना आयोगकी सदस्य डा उषा झाले दीर्घ कुपोषणका कारण हुने पुड्कोपनको समस्या समाधानका लागि बहुक्षेत्रिय पोषण योजना अनुसार काम अगाडि बढीरहेको जानकारी दिइन्। ‘यो समस्यालाई स्वास्थ्यको मात्र समस्या भनेर छाड्नु हुँदैन,’ उनले भनिन्, ‘अहिले ३६ प्रतिशतमा रहेको समस्यालाई क्रमश न्यूनिकरण गर्दै जान सबैको साथ र सहयोग आवश्यक पर्छ।’

विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधी डा खुर्सील आलम हैदरले पोषणको क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेको भन्दै प्रशंसा गरे। एनले दीगो विकास लक्ष्य हासिल गर्न नेपालले सुधारको गतिलाई बढाउन पनि सुझाव दिए।

जनस्वास्थ्यविज्ञ डा बद्रीराज पाण्डेले कुपोषण अन्त्यका लागि सबैको सामुहिक प्रयास आवश्यक रहेको बताए। ‘सुधार राम्रो देखिएको छ,’ उनले भने, ‘तर आगामी दिनमा झन् चुनौती थपिँदै गएको छ। त्यसकारण एक वा दुई निकायले होइन सबैको समुहिक प्रयास भयो भने मात्र लक्ष्य हासिल गर्न सकिन्छ।’

अध्ययनमा सहभागी राजकुमार सुवेदीका अनुसार भौगोलिक र प्रादेशिक क्षेत्रमा पुड्कोपनाको विभाजन र कारण पत्ता लगाउने उद्देश्यले अध्ययन गरिएको थियो। अध्ययनमा पुड्कोपन घट्नुमा दुई दर्जन भन्दा बढी कारणहरु फेला परेको उनले जानकारी दिए।

पुड्कोपना न्यूनिकरणका प्रमुख कारणहरु

अध्ययनबाट पोषणमा सुधार, महिला शिक्षा र मिहला सशक्तिकरण, खानेपानी तथा सरसफाईमा सुधार, गरिबी घट्नु, मातृशिशु स्वास्थ्य स्याहरमा सुधार, आमाको खानपानमा सुधार, महिला स्वास्थ्य स्वयंसेविकाको उदाहरणिय भूमिकाले पुड्कोपना न्यूनिकरणमा उल्लेखनिय योगदान दिएको फेला पारेको छ।

यसका साथै आमासुरक्षा कार्यक्रम, राष्ट्रिय पोषण नीति तथा रणनीति, सबैका लागि शिक्षा नीति, खानेपानी, स्वच्छता तथा सरसफाई कार्यक्रम, बहुक्षेत्रिय पोषण योजना, आधारभुत स्वास्थ्य सेवालाई निशुल्क उपलब्ध गराउनु, पोषण नीति लगायका कार्यक्रमका कारण पुड्कोपनमा तिब्र रुपमा सुधार आएको अध्ययन प्रतिवेदनमा उल्लेख छ। स्वास्थ्य खबर डटकमबाट।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्