ठेकेदार कम्पनीले विश्वास दिलाउन सक्नुपर्छ : मन्त्री बिना मगर

minister program pic3
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । खानेपानी मन्त्री बीना मगरले मेलम्ची आयोजनाको बाँकी काम अघि बढाउन ठेकेदार कम्पनी सिएमसी दि रेभेनासँग कुनै दुविधा नरहे पनि कम्पनीप्रति विश्वास गर्ने वातावरण नरहेको बताएकी छिन् ।

खानेपानी तथा सरसफाईको क्षेत्रमा क्रियाशील पत्रकारहरुको संस्था वास मिडिया फोरमले सोमबार राजधानीमा आयोजना गरेको ‘संघीयतामा खानेपानी तथा सरसफाइ र गन्तव्यः दिगो विकास लक्ष्य’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले ठेकेदार कम्पनीसँग सरकारले विश्वास गर्ने आधार तयार भएमात्र काम अघि बढ्ने बताइन् ।

उनले भनिन्, “ठेकेदार कम्पनी सिएमसीसँग काम गर्न कुनै दुविधा छैन । तर, उसँग काम गर्नका लागि विश्वसनीय आधार भने हुनुपर्छ । सरकारले उक्त कम्पनीसँग विश्वासको आधार खोजिरहेको छ । पुनः काम गर्ने भन्नेमा विश्वास गर्ने वातावरण बनिनसकेको भएपनि मन्त्रालयले उच्च स्तरमा समस्याको हल खोजिरहेको छ ।”

सिएसी कम्पनीको अविश्वासका कारण सो आयोजनाको काम पछिल्लो समयमा आएर अघि बढन नसकेको उनको भनाई छ । खानेपानी मन्त्री मगरले मुखैमा आइसकेको सो आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकार निकै गम्भीर रहेको पनि उल्लेख गरिन् ।

अन्तिम अवस्थामा आएर मेलम्चीको काम रोकिंदा साह्रै दुःख लागेको बताउँदै उनले मेलम्चीको पानी काठमाडौंका बासिन्दालाई बाँड्न आतुर रहेको बताइन् । उनले भनिन्, “हामी संयमित भएर समस्याको हल गर्न खोजिरहेका छौं । मेलम्चीको काम रोकिएकोमा अरु पक्षले फाइदा नलिइयोस् भन्नका लागि सरकार निकै गम्भीर भएर लागिरहेको छ ।”

कार्यक्रममा मन्त्री मगरले खानेपानीको पहुँचभन्दा बाहिर रहेका जनताका लागि मन्त्रालयले नयाँ योजनाहरु समेटेर योजना बुक तयार गरेको जानकारी दिइन् । घण्टौं घण्टासम्म पानीका लागि हिंड्नुपर्ने समस्याको हल गर्न थप योजनाहरु ल्याउन लागिएको उनको भनाइ छ ।

उनले खानेपानी मन्त्रालय गठन भएपछि पहिलोपटक खानेपानीसँग सम्बन्धित कानून निर्माण अन्तिम चरणमा पुगेको बताइन् । खानेपानीको आपूर्तिसँगै ढल व्यवस्थापन गर्नसमेत ढल नीति पारित भएको मगरले कार्यक्रममा जानकारी दिइन् ।