नेपाली कामदार लिने जापानको निर्णय : कसरी जाने जापान ?

japan-flag-_1
लाेकपाटी न्यूज

काठमाडौं, १० पुस । जापानमा नेपालीसहित विदेशी कामदारका लागि रोजगारको ढोका खुलेको छ। जापान सरकारले मंगलबारदेखि लागू गरेको नयाँ नीति अन्तर्गत विदेशी कामदारका लागि जापान खुल्ला भएको हो ।

नेता गोकर्ण बिष्टले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हालेदेखि नै जापानमा नेपाली कामदारका लागि ढोका खुला गर्न पहल अघि बढेको थियो । मन्त्री बिष्टले झण्डै ११ पटक जापानी सरकार र नेपालस्थित राजदुतसँग नेपाली कामदार आपूर्ति गर्ने विषयमा छलफल गरेका थिए ।

नेपाल सरकारको पहललाई सकारात्मक रुपमा लिँदै जापानले नेपाली कामदारसमेत विदेशी कामदार आपूर्ति गर्ने नयाँ नीति लागू गरेको हो । नयाँ नीतिअनुसार नेपाल जापानको उच्च प्राथमिकतामा परेको छ। जापान सरकारले नेपालबाट जाने कामदारलाई नेपाली भाषामै परामर्श दिने नीतिसमेत ल्याएको छ।

संसारभरका विदेशी कामदार आकर्षित गर्न जापानले १२६ वटा नयाँ नीति लागू गरेको हो। जापानी समाचार एजेन्सीअनुसार प्रधानमन्त्री सिन्जो आबेले आफ्ना मन्त्रीमण्डलका सदस्यलाई ठूला शहरमा मात्र नभएर साना शहरहरुमा समेत रोजगार सिर्जना गरेर विदेशी कामदारलाई आकर्षित गराउने वातावरण बनाउन निर्देशन दिएका थिए ।

विभिन्न क्षेत्रमा विदेशी कामदारलाई रोजगार प्रदान गर्न यो नीतिले सहयोग पुर्याउने जापानी सरकारको विश्वास रहेको समाचार एजेन्सीले जनाएका छन् । मंगलबारबाट लागू भएको नीतिले हाल जापानमा रहेका विदेशी कामदारसमेत लाभान्वित हुने बताइएको छ।

यो नीति अन्तर्गत बहुसांस्कृतिक तथा सूचना केन्द्रहरु स्थापना हुनेछन्। जसअन्तर्गत उक्त केन्द्रहरुले विभिन्न ११ वटा भाषामा विदेशी कामदारलाई परामर्श तथा अन्य आवश्यक प्रशासनिक सहायता प्रदान गर्नेछ। ११ वटा भाषामा नेपाली भाषा समेत समावेश गरिएको छ। अन्य भाषामा जापानी, अंग्रेजी, थाई, चिनियाँ, कोरियन, स्पेनिस, भियतनामी, पोर्चुगिज, इण्डोनेसियन र फिलिपिनी (ट्यागलोग) रहेका छन् ।

विदेशी कामदारलाई जापानी भाषासँग अभ्यस्त गराउन जापान सरकारले तालिम प्राप्त भाषा शिक्षकबाट भाषा कक्षा सञ्चालन गर्ने निर्णयसमेत गरेको समाचार एजेन्सीले जनाएका छन् । विदेशी कामदार ल्याउन जापानी सरकारले सन् २०१९ का लागि १६.३ अर्ब जापानी येन बजेट छुट्याएको छ।

जापानले विभिन्न १४ वटा क्षेत्रका लागि विदेशी कामदार लैजाने नीति कार्यान्वयनमा ल्याएको हो। नर्सिङ केयर, रेस्टुरेन्ट, निर्माण लगायतका क्षेत्रमा विदेशी कामदारको माग बढी भएकाले जापान सरकारले सो क्षेत्रलाई बढी प्राथमिकता दिएको छ। कम्तीमा ३ लाख ४५ हजार १५० विदेशी कामदारलाई रोजगार भिषाअन्तर्गत आफ्नो देशमा भित्र्याउने जापान सरकारको लक्ष्य रहेको छ।

सुरुमा अप्रिल महिनादेखि नर्सिङ केयर, लजिङ्ग तथा रेस्टुरेन्टका लागि भाषा परीक्षा लिइने योजना छ। बाँकी ११ क्षेत्रमा सन् २०२० को मार्चसम्म क्रमशः परीक्षा लिइने बताइएको छ। जापानको यो कदमले नेपालीलाई निकै उत्साहित बनाएको छ । जापानस्थित गैरआवासीय नेपाली संघले जापानी कदमको स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र श्रममन्त्री बिष्टलाई विशेष धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्