तनहुँ, ११ पौष । भूकम्पबाट क्षति पुगेका विद्यालयहरुको पूनर्निर्माण कार्य तनहुँ जिल्लामा तीब्र गतिले भइरहेको छ । यसै क्रममा व्यास नगरपालिका वडा–१० सेवरमा रहेको सर्वज्योति माध्यामिक विद्यालयमा निर्माण गर्ने ४ कोठे भवनको एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ ।
उक्त शिलान्यास कार्यक्रम राष्ट्रिय पूनर्निर्माण प्राधिकरण कार्यान्वयन इकाई (शिक्षा) तनहुँका प्रमुख सूर्यप्रसाद क्षेत्री रानाभाट र जग्गादाता स्वर्गीय ईश्वरीप्रसाद पौडेलकी श्रीमती सूर्यमाया पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
विद्यालयको भवन भूकम्पले जीर्ण बनाएपछि टालटुल गरे विद्यार्थीहरुलाई अध्ययन गराउनु परेको र ती भवनलाई बिस्थापित गर्नको लागि नयाँ भवनको आवश्यकता रहेको समयमा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) बाट भवन बनाउनका लागि रकम पर्नु निकै खुशीको कुरा रहेको र तोकेको समयअगावै भवन निर्माण सम्पन्न गर्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मदन तिमल्सेनाले बताए ।
विद्यालयकी शिक्षिका मनु सापकोटाले सञ्चालन गरेको कार्यक्रममा अभिभावक संघका अध्यक्ष बसन्त दरै, भवन निर्माण समितिका सल्लाहकार तिल बहादुर थापा, हरिविलास अधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । ६६ लाखको लागतमा निर्माण हुन लागेको उक्त भवनमा पाउँदा पढ्न पाउने भएपछि विद्यार्थीहरु हर्षित भएका छन् ।