विकासमा सत्तापक्ष–प्रतिपक्ष नभनौं : मन्त्री अर्याल

padma aryal-3
लाेकपाटी न्यूज
0 Shares

वालिङ, पुस । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले विकास सबैको साझा मुद्दा भएकाले यसमा सत्तापक्ष र प्रतिपक्ष भनन नहुने बताएकी छिन् । बुधबार गृहजिल्ला स्याङ्जामा मन्त्री अर्यालले सो कुरा बताएकी हुन् ।

“विकास साझा विषय हो, जसले गरे पनि हुन्छ”, मन्त्री अर्यालले भनिन्, “गाउँ ठाउँको विकास जसले गरे पनि आखिर जनतालाई नै सहज हुन्छ, विकासमा सबैले सहकार्य गरौं’’ विकासका लागि सकारात्मक र हार्दिक प्रतिस्पर्धा गर्नुपर्ने मन्त्री अर्यालको भनाइ छ ।

अबको शिक्षा प्राविधिक र व्यावसायिक हुनुपर्ने उनले बताइन् । स्याङ्जा वालिङ–१४ थुमपोखरामा रहेको जनहित माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समापन कार्यक्रममा बुधबार उनले भनिन्, “प्रमाणपत्र प्राप्त गर्नका लागि मात्रै शिक्षा नभई जीवन उपयोगी र कर्मयोगी बनाउनका लागि पनि शिक्षामा परिवर्तन आवश्यक छ ।”

“हामीले पढ्ने शिक्षालाई कामयोगी बनाउनुपर्छ, शिक्षालाई कर्मसँग जोड्नुपर्छ, प्रमाणपत्रका लागि मात्रै होइन्”, मन्त्री अर्यालले भनिन्, “अहिलेको सरकारले प्राविधिक र व्यावसायिक शिक्षाको कार्यान्वयनका लागि पहल गरिरहेको छ ।”

उनले दूरीका आधारमा शिक्षालयबाट टाढाटाढा रहेका विद्यार्थीलाई आवाससहितको शिक्षाका लागि सरकार लागिपरेको चर्चा गर्दै दश कक्षा उत्तीर्ण गरेपश्चात् विद्यार्थीको रुचि र चाहनाअनुसारको प्राविधिक र जीवनोपयोगी शिक्षा प्रदान गरिने बताइन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्