‘बस स्टप’ परिवर्तन, यात्रु मर्कामा

Bus stop
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १२ पुस । दैनिक हजारौँ सार्वजनिक यातायात ओहोरदोहोर गर्ने रत्नापार्क र त्यस आसपासका क्षेत्रमा बस स्टप परिवर्तन हुँदा यात्रु मर्कामा परेका छन् ।

काठमाडौं महानगरपालिका, यातायात व्यवस्था विभाग, सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा टुँडिखेल आसपासको क्षेत्रमा सवारी आवागमन व्यवस्थित बनाउन बस स्टप परिवर्तन गर्दा यात्रु मर्कामा परेका हुन् ।

काठमाडौँ महानगरपालिका, यातायात व्यवस्था विभाग, सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाले यही पुस १ गतेदेखि एउटा रुटको सवारी साधनलाई टुँडिखेल वरपरको दुई ठाउँमा मात्र यात्रु ओराल्ने र चढ्ने व्यवस्था मिलाएपछि यात्रुले उक्त समस्या भोग्नुपरेको हो । पहिला एउटै रुटको बसले चार ठाउँमा यात्रु ओराल्ने तथा उकाल्ने गरेकोमा अहिले कम भएपछि यात्रु मर्कामा परेका हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले भद्रगोल भएको ट्राफिक व्यवस्था सहज बनाउन यात्रु ओर्लने र चढ्ने केन्द्रहरु परिवर्तन गरेको बताउँछन् । उनले भने, ‘एकै ठाँउबाट सवारी साधनले यात्रु ओराल्ने तथा चढाउने गर्दा सवारी साधन आगमनमा समस्या पर्‍यो, सवारी साधन जाम हुने भएकाले छुट्टाछुट्टै बस स्टप निर्धारण गरेका हौँ ।’

यात्रु ओर्लने र चढ्ने स्थान व्यवस्थित बनाउँदा केही समस्या भएको उनको भनाइ थियो । यात्रुलाई आफूले चढ्ने सवारी साधनको ठाउँ र सडकको बारेमा पनि महाशाखाले जानकारी दिन थालेको उनले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्