ट्रम्प अकस्मात किन पुगे इराक ?

Donald Trump
लाेकपाटी न्यूज
0 Shares

इराक, १२ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको आकस्मिक भ्रमण गरेका छन् । उनी अमेरिकी राष्ट्रपति निर्वाचित भएपछिको यो पहिलो पटक इराक पुगेका हुन् ।

उनको यो भ्रमण पूर्व घोषित नभई अकस्मात भएको बताइएको छ । राष्ट्रपति ट्रम्पले इराकको भ्रमण गरेर त्यहाँबाट जर्मनी प्रस्थान गरेको केही घन्टापछि मात्र उनको भ्रमणको बारेमा जानकारी गराइएको थियो ।

इस्लामिक स्टेट परास्त भइनसकेको र सिरियामा जारी गृहयुद्ध पनि समाप्त नभएको अवस्थामा सिरियामा तैनाथ करिब दुई हजार अमेरिकी सेना फिर्ता गर्ने र विश्वव्यापी रुपमा अमेरिकी सुरक्षा अधिकारीको भूमिकालाई अन्त्य गर्ने ट्रम्पले घोषणालाई ट्रम्पले गरेका थिए ।

यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको इराक भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । राष्ट्रपति ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया स्थानीय समयाअनुसार बुधबार बेलुका ७ः१६ मा पश्चिम इराकमा रहेको अल असाद एयर बेसमा पुगेका थिए ।

राष्ट्रपति ट्रम्पले इराक छोड्नु केही घण्टा अगाडि करिब एक सय जना अमेरिकी विशेष सैन्य कमाण्डर र अरु केही अधिकारीहरुसँग सामूहिक वार्ता गरेका थिए ।

यसरी विभिन्न समूहमा छुट्टाछुट्टै रुपमा गरिएको वार्ताको क्रममा हाल इराकमा रहेका अमेरिकी सैनिकको अवस्थाका साथै इराकको सुरक्षा अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ ।

यसअघि नै इराकका प्रधानमन्त्री अदेल अब्देलसँग ट्रम्पको औपचारिक भेटवार्ता हुने कुरा थियो । तर, पछि भने उनीहरुबीच भेट नभई फोनवार्ता मात्र भएको बताइएको छ ।

इराकी प्रधानमन्त्रीको कार्यालयद्धारा जारी विज्ञप्तिका अनुसार सो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले इराकी प्रधानमन्त्रीलाई अमेरिका भ्रमणको निमन्त्रणा दिएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्