नेपालमा अब कोही पनि गरीब हुदैनन् : प्रधानमन्त्री ओली

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कोही पनि गरीब नहुने बताएका छन् । संयुक्त टे«ड यूनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

नेपालमा श्रमजवी जनताको हित गर्ने सरकार भएकाले उनीहरुको वृत्ति विकास र आर्थिक स्थिति सुधार गर्नका लागि सधैं सकारात्मक रहने प्रधानमन्त्री ओलीको भनाइ छ । सरकारले हालै घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले धेरै श्रमिकहरुलाई गरिबीबाट मुक्त गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

“हामीले मजदुरको मात्र होइन उद्योगीहरुको पनि हित हुने गरी कार्यक्रम ल्याएका छौं” प्रधानमन्त्री ओलीले भने “मजदुर र मालिक दुवै पक्षलाई सहमत गराएर ल्याएको सामाजिक सुरक्षा कार्यक्रम धेरैका लागि नौलो विषय हो ।” प्रधानमन्त्री ओलीले सरकारले धनीलाई थप धनी हुनबोट रोक्ने नभई गरिबलाई धनी बनाउने बताएका छन् ।

“सामाजिक समानताका आधारमा गरिवलाई पनि खान लाउन र दैनिक जीवन सहजले धान्न पुग्ने गरी कार्यक्रमहरु ल्याउछौं” प्रधानमन्त्री ओलीले भने, “सामजिक विभेद हटाउन धेरै समय नलागे पनि सामाजिक समानताका लागि अलिकति समय लाग्छ । तर, हामी त्यो अवस्थामा पुग्छौं ।”

प्रधानमन्त्री ओलीले शितलहरबाट तराईमा हुने मृत्यूलाई रोक्न सरकार प्रतिवद्ध भएको बताएका छन् । “शितलहरबाट जोगाउनका लागि सुरक्षा निकाय, स्थानीय तह प्रशासन, निजी क्षेत्र सबैसँग समन्वय गरिएको छ” प्रधानमन्त्री ओलीले भने, “यस वर्षदेखि जाडोले कठ्यांग्रिएर कसैले मर्नु पर्दैन ।”

प्रधानमन्त्री ओलीले सरकारले अधिनायकवाद ल्याउछ भनेर जनतालाई त्रसित पार्न खोजेको बताएका छन् । आधा शताब्दीभन्दा बढी लोकतन्त्रका लागि आफूले योगदान गरेको स्मरण गराउंदै प्रधानमन्त्री ओलीले अधिनायकवादको हल्ला पिटेर जनतालाई आतंकित नपार्न सचेत गराएका छन् ।

“सरकारले अधिनायकवाद ल्याउछ भनेर जनतालाई आंतकित पार्नु र बालबालिकालाई भूत आयो भनेर तर्साउनु उस्तै हो” प्रधानमन्त्री ओलीले भने ।