हेटौंडा, १३ पुस । अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष विजय गौतमले विद्यार्थी आन्दोलनको जिम्मेवारी बदलिएको बताएका छन् । अनेरास्ववियू (क्रान्तिकारी) र अनेरास्ववियु सहिद स्मृति क्याम्पस समितिद्वारा संयुक्त रुपमा सहिद स्मारक हेटौंडामा आयोजित बनभोज कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष गौतमले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा उनले भने, ‘हिजो राजनीतिक परिवर्तनको आन्दोलनमा मुख्य भूमिकामा देखिएको विद्यार्थी संगठनले आज शैक्षिक मुद्दाहरु सम्बोधन गराउन श्रेष्ठ सावित हुन जरुरी छ ।’ गौतमले बढ्दो शैक्षिक बिकृति, बिसंगति अन्त्यको निम्ति ध्रुवीकृत हुँदै गरेको अखिलले सफल नेतृत्व गर्ने दाबी पनि गरे ।
फरक सन्दर्भमा उपाध्यक्ष गौतमले दुई संगठनबीचको एकता अब छिट्टै सम्पन्न हुने बताए । यसको लागि पार्टीको स्थायी समितिले कार्यदल गठन गरेको उनले जानकारी दिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश माननीय कृष्ण खनाल, पूर्व विद्यार्थी नेतृ एवं प्रदेशका सांसद कञ्चन खनालले पार्टी एकतामा भएको बिलम्बले विद्यार्थी संगठनको एकतामा केही असर गरे पनि अब छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रभास सुवेदी, अनेरास्ववियुका केन्द्रीय सदस्य स्वरुप फुयाँल, क्याम्पस अध्यक्ष अमृत वस्ती लगायतको उपस्थिति थियो ।