‘अपराधी डराउन्, जनता खुसी होउन्’ : आइजिपी खनाल

Sarbendra Khanal
लाेकपाटी न्यूज
0 Shares

कैलाली, १३ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सर्वसाधारणको मनमा हाम्रो प्रहरी, राम्रो प्रहरी भन्ने सोंच आउने किसिमले सभ्य व्यवहार प्रस्तुत गर्दै उत्कृष्ट काम गर्नुपर्ने बताएका छन् ।

सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको सम्पर्क कार्यालय धनगढी कैलालीमा शुक्रबार उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।

प्रहरीको आचरण व्यवहार सदैव सभ्य, शिष्ट र असल हुनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी देखेमा अपराधी डराउने र सर्वसाधारण खुशी हुने किसिमका कार्य गर्नुपर्ने बताए । गलत कार्य गर्ने र प्रहरीलाई बदनाम बनाउन खोज्ने तत्वसँग सजग रहन र अझै निडर भएर त्यस्ता तत्वको सामना गर्नुपर्नेमा उनले जोड दिए ।

अनुसन्धानमा खटिने प्रहरी कर्मचारीहरू तत्काल घटनास्थल पुग्ने अवस्थामा तैनाथ रहनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले हरेक घटनाको अनुसन्धानमा नवीन तरिका अपनाई राम्रो काम गरी सफलता हासिल गरेरै देखाउने सोचका साथ काम गर्नुपर्ने बताए ।

महिला हिंसा, चोरी, डकैती, गुण्डागर्दी लगायतका अपराधिक गतिविधिमा तत्काल प्रतिक्रिया जनाई अपराधीलाई कार्वाहीको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए ।

हरेक प्रहरी कर्मचारीहरू संगठनको नीति अनुसार चल्नुपर्ने र अझै राम्रो गर्छु भन्ने सोचको विकास गरी काम गर्नुपर्ने प्रहरी महानिरीक्षक खनालले बताए । कार्यालय व्यवस्थापन, सरसफाईदेखि आफ्नो व्यक्तित्व झल्किनेतर्फ समेत ध्यान दिनुपर्ने उनले चर्चा गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्