सुदुरपश्चिमको पर्व : के हो ठूलीरात ?

Thoolirat
लाेकपाटी न्यूज
0 Shares

बैतडी, १५ पुस । बैतडीसहित सुदूरपश्चिममा ‘ठूलीरात’ तथा ‘पुसे १५’ धुमधामसँग मनाइँदैछ । सबैभन्दा लामो हुने भएकाले सोमबारको रातलाई ‘ठूलीरात’ मानी राति मीठोमीठो खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाई गर्ने चलन छ ।

पण्डित दयाकृष्ण पन्तका अनुसार भन्छन्, ‘रातभरि कथा, कहानी (स्थानीय भाषामा आइना, बातै) सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड पकाएर खाने गरिन्छ ।’ ‘पन्नरी रात’का रुपमा समेत मनाइने यस पर्वमा आज १५ किसिमका परिकार खाने गर्दछन् ।

तेल अथवा घ्यूमा तारेर पकाइएका खानेकुरा अथवा घ्यू हालेर भात खाने गरिन्छ । तिहारमा भैलो खेलेर जम्मा भएको रकमबाट आजै ‘कुन्क्यौलो’ (वनभोज) खाने गरिन्छ । पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले यसबाट बच्न र शरीरसमेत फूर्तिलो हुन भएकाले चिल्लो पदार्थ हालेको तातो खानेकुरा खाने गरिएको पण्डित पन्त बताउँछन् ।

एक दिन भए पनि आज घर बाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य ‘कुन्क्यौलो’ (वनभोज) जाने र मीठामीठा खानेकुरा खाने चलन रहिआएको छ । डिसेम्बर २२ तारिखलाई विश्वभरि नै सबैभन्दा छोटो दिन भनिए पनि नेपालमा पुस १५ लाई छोटो दिन मान्ने गरिन्छ । आजदेखि दिन बिस्तारै लम्बिँदै जान्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्