‘गुणस्तरका लागि शिक्षक जिम्मेवार बन्नुपर्छ’ : अध्यक्ष तिमिल्सिना

Ganesh prasad Timalsina
लाेकपाटी न्यूज
0 Shares

पर्वत, १६ पुस । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सामुदायिक विद्यालयप्रति विश्वास र आकर्षण बढाउनुपर्नेमा जोड दिएका छन् ।

जलजला गाउँपालिका–२ बगरफाँटमा रहेको सिद्धबाबा प्राथमिक विद्यालयमा सोमबारदेखि शुरु भएको महायज्ञको उद्घाटन गर्दै उनले विद्यालयको गुणस्तर सुधारका लागि शिक्षक जिम्मेवार बन्नुपर्ने बताए । पूर्वसांसद नवराज शर्मा र महायज्ञका बाचक कमलनयन गौतमले दानमात्र नभएर बालबालिका सामुदायिक विद्यालयमा पढ्ने र पढाउने दायित्व पनि पूरा गर्न आग्रह गरे ।

गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बगरफाँट बजार संरक्षणका लागि डीपीआर तयार पार्न लागिएको, केन्द्रीय प्रशारण लाइन स्थानान्तरण गर्ने तयारी भइरहेको, सबै घरमा निजी धारामार्फत खानेपानी वितरण गर्न लागिएको र बगरफाँटदेखि बाँसखर्क जोड्ने सडक कालोपत्रे गर्न लागिएको जानकारी गराए ।

हाल कक्षा एकसम्मको पठनपाठन सञ्चालन हुने सिद्धबाबा आधारभूत विद्यालयको तह थप, निजी शिक्षकको तलब व्यवस्थापन र भौतिक पूर्वाधार सुधार गर्न स्रोत जुटाउने उद्देश्यले आयोजित महायज्ञ सात दिनसम्म सञ्चालन हुने आयोजक समितिका अध्यक्ष हिराबहादुर बरुवालले बताए ।

करीब तीन सय घरधुरीको बसोबास रहेको बगरफाँटमा सामुदायिक विद्यालय नहुँदा त्यहाँका बालबालिका अध्ययनका लागि सदरमुकाम बेनी आउने गरेका छन् ।