गुफाडाँडा सम्मेलन : ११ कार्यपत्र प्रस्तुत, कसले के भने ?

jalbayu sammelan
लाेकपाटी न्यूज
0 Shares

सिन्धुपाल्चोक, १६ पुस । मेलम्ची नगरपालिका–९ ज्यामिरे गुफाडाँडामा सोमबार आयोजना गरिएको राष्ट्रिय जलवायु सम्मेलनमा विभिन्न विज्ञ समूहले ११ कार्यपत्र प्रस्तुत गरेका छन् । मङ्गलबार समेत ११ कार्यपत्र प्रस्तुत गरिने छ ।

कार्यपत्रमाथि समूहगत छलफलपछि निष्र्कषसहित सम्मेलन सकिने जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष सीता सुन्दासले जानकारी दिइन् । आज जलवायु परिवर्तनको विविधतासम्बन्धी चार तथा जलवायु परिर्वतन र यसको प्रभाव सम्बन्धमा विज्ञले सात कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राष्ट्रिय जलवायु सम्मेलनको उदघाटन गरेकी थिइन् । सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अब विद्यालय र क्याम्पसको पाठ्यक्रममा जलवायु परिवर्तन र यसको अनुकूलनका विषय समावेश गर्न आवश्यक रहेको बताइकी थिइन् । उनले जलवायु परिवर्तनको विषयमा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रष्ट धारणा राखिसकेको भन्दै प्राकृतिक सम्पदा दोहन गर्दा प्रकृति र संस्कृति जोगाउनुपर्नेमा जोड दिएकी थिइन् ।

राष्ट्रपति भण्डारीले यस्ता सम्मेलनको निरन्तरताका लागि सबै जनप्रतिनिधिलाई आग्रह गरिन् । सोमबार जलवायु परिर्वतनको प्रतिमा अनावरणपश्चात् राष्ट्रपति भण्डारी तथा ७७ जिल्लाका प्रतिनिधिले राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् । जिल्ला समन्वय समिति महासङ्घको आयोजना र जिल्ला समन्वय समिति सिन्धुपाल्चोककोे व्यवस्थापनमा उक्त सम्मेलन आयोजना गरिएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तत्कालै कर्मचारी समायोजनलाई टुङ्गोमा पुर्याएर सङ्घीयता कार्यान्वयनलाई प्राथमिकतामा राखेको बताए । स्थानीय तहका गुनासालाई लामो समय नराखिने उनको भनाइ थियो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु सम्मेलन विद्यार्थीको सङ्घ संगठनजस्तो हुन नहुने बताए ।

jalbayu sammelan-2

पूर्वमन्त्रीद्वय अग्नि सापकोटा र शेरबहादुर तामाङले सिन्धुपाल्चोकको धेरै प्राकृतिक स्रोत दोहन भइरहेको प्रति चिन्ता व्यक्त गर्दै भविष्यमा यसले पार्ने असरका बारेमा समयमै सोच्नुपर्ने बताए । कार्यक्रममा प्रदेश नं ३ का उद्योगमन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलाल, जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष सीता सुन्दास, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल तथा व्यवस्थापन संयोजक कृष्णगोपाल तामाङलगायतले सम्मेलनको सफलताको शुभकामना व्यक्त गरे ।

सोमबारदेखि शुरु भएको उक्त सम्मेलन मङ्गलबार साझासिन्धु घोषणा पत्रजारी गर्दै सकिने आयोजकले जनाएको छ । सम्मेलनमा जलवायु परिवर्तन र वातावरण सम्मेलनका विषयमा गहन छलफल हुनेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्