Spread the love
  •  
  •  
  •  
  •  
  •  

नेकपाको जनसभा : कहाँबाट आए हजारौं मान्छे ?

0

काठमाडौं, ८ मङ्सिर । धेरैले सोचेका थिए, ‘नेत्रविक्रम चन्द विप्लव ‘नेतृत्व’को नेकपाले काठमाडौंमा सामान्य कार्यक्रम गर्छ र पार्टी पुनर्गठन दिवस मनाउँछ । तर, जतिबेला नेकपाको जनसभा सुरु भयो, त्यतिबेला मानिसहरुका अनुमान ‘फेल’ खाइसकेको थियो ।

विप्लव माओवादीले शनिबार देशका सबै जिल्लाहरुबाट काठमाडौंमा मान्छे उतार्यो । भर्खरै आफ्ना प्रवक्तालाई गिरफ्तार गरेर देशभरि डुलाएर अपमान गरेको आक्रोश थियो कार्यकर्तामा । सर्वोच्चले पटकपटक छोड्न आदेश दिँदा पनि सरकारले कानमा तेल हाल्यो, यसले सरकार निरङ्कुश छ भन्न विप्लव माओवादीका लागि शक्तिशाली हतियार मिल्यो ।

शनिबार काठमाडौंमा आयोजित जनसभामा विप्लव माओवादीले हजारौं मान्छे उतारेको छ । सडक जाम गरी गरिएको जनसभामा ठेलम्ठेल मानिस मात्र थिएनन्, सडक पनि जाम थियो । राता टिसर्ट लगाएका युवाहरुको ताँती देख्दा २०६२/०६३ कै माओवादीको झझल्को मिल्थ्यो ।

जनसभामा पार्टी महासचिव विप्लव अनुपस्थित थिए । पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा थिए प्रमूख अतिथि । तर, मान्छेहरुको उपस्थिति भने अर्थपूर्ण थियो । जनसभाको उपस्थिति हेर्दा लाग्थ्यो, ‘यी विप्लव हेर्न वा उनको भाषण सुन्न आएका मान्छे थिएनन् । बरु, नेकपा अर्थात् विप्लव माओवादीको नीतिप्रति सहमत भएका मान्छेहरुको भेला थियो त्यो ।’

biplab sabha

सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राजनीतिक स्थिरता र समृद्धिको नारा दिएको छ । ओली इतिहासकै शक्तिशाली कम्युनिष्ट प्रधानमन्त्री छन् । तर, उनकै विरोधका लागि सडकमा जम्मा भएका मानिसहरु देख्दा ‘नेकपाको विकल्प नेकपा’ त होइन ? भन्ने प्रश्न गर्ने ठाउँ मिल्थ्यो । कम्युनिष्टहरुको सरकार रहेको परिस्थितिमा विद्रोही शक्तिप्रतिको यो आकर्षण अवमूल्यन गर्ने खालको थिएन ।

सत्तामा पुगेपछि प्रायः पार्टी र नेताले आफ्नो धरातल बिर्सन्छन् । अहिले त्यस्तै भएको छ सत्ताधारी नेकपा । एमाले र माओवादी केन्द्रवीच एकता भए पनि तलसम्म संगठनात्मक एकता हुन सकेको छैन । सरकार र पार्टी दुवैतिर भद्रगोलको ‘ताप’ छ । सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेको छैन, विवादका बीच सरकारले गुजारा चलाइरहेको छ । त्यसको भरपूर फाइदा उठाउँदैछ विद्रोही नेकपा ।

माओवादी शान्ति प्रक्रियामा आएदेखि नै कार्यकर्ताको क्रान्तिकारी उर्जा शिथिल हुँदै गयो । ‘पहुँचवाला’ नेताहरु राजधानी र शहर केन्द्रित हुँदै गए । नेताहरु चुनावका बेलामात्रै दुरदराज पुग्थे । बाँकी साँढे चार वर्ष ग्रामीण बस्तीको ‘एक्लो सिंह’ भयो विप्लव माओवादी । प्रचण्ड–बाबुरामप्रतिको असन्तुष्टिको राम्रै फाइदा उठाए उनीहरु । टोल–टोलमा प्रशिक्षण राखे, संगठन बनाए, जुन कुराको हेक्का राख्ने फुर्सद सत्ताधारी नेकपामा भएन ।

विप्लव माओवादीले सत्तारुढ दलविरुद्ध आगो ओकल्न सिकायो । विप्लवको ‘महापतन’ पुस्तक त्यसको पछिल्लो दृष्टान्त थियो । उनीहरुले आम्दानीका अवैध स्रोतहरुमाथि कब्जा जमाए । ‘क्रान्ति पनि स्रोत पनि’ । यो सुत्रले एकथरि युवाहरु विप्लव माओवादीको नजिक भए, जसलाई नेकपा राजनीतिकरण गर्न खोजिरहेको छ ।

अहिलेको राजनीतिक सङ्घर्ष सत्ता वरिपरि घुमिरहेको छ । सत्तापक्ष र प्रतिपक्षको जुहारीकै भुलभुलैयामा छ देश । तर, सडकको मोर्चामा एउटा सशक्त शक्ति जन्मिँदैछ भन्ने हेक्का धेरै नेताहरुलाई छैन । सरकारले विप्लवले उठाएका राजनीतिक एजेण्डाको मूल्य नबुझ्दा, उसले संगठित गरेको शक्ति नचिन्दा त्यसको फाइदा उठाउँदैछ विद्रोही नेकपा ।

एमाले र माओवादी केन्द्रबीच जतिबेला एकताको निर्णय भयो, त्यतिबेला माओवादी केन्द्रका एकथरि कार्यकर्ता एकताप्रति खासै उत्साही देखिएनन् । एमालेसँगको विगतमा गरिएका राजनीतिक सङ्घर्षको ‘तुस’ले उनीहरु भावनात्मक रुपमा विप्लवसँग नजिकिए । शनिबारको सभामा त्यसको प्रष्टै सङ्केत देखिन्थ्यो ।

सत्ताधारी नेकपा र सरकारको गियर बदलिएन भने त्यसको फाइदा उठाउने ३ शक्ति छन्, ती हुन्, नेपाली कांग्रेस, विप्लव माओवादी र राजावादी शक्ति । त्यस्तो अवस्थामा संसदीय व्यवस्थाभित्रै विकल्प खोज्नेहरुको साथ कांग्रेसले पाउनेछ । राजाकै शक्ति फर्काउन चाहनेहरु स्वाभाविकै रुपमा पूर्वराजा रोज्नेछन्, अनि संसदीय राजनीतिको विकल्प खोज्नेहरु विप्लवनजिक । त्यही परिस्थितिको खोजीमा देखिन्छ विद्रोही नेकपा ।

शनिबार टुंडीखेलका सडकमा जम्मा भएको शक्तिले राज्यसत्ता बदल्ने ‘ल्याकत’ राख्दैन । तर, राज्यलाई चुनौति दिने र अल्मलाउने ‘ल्याकत’ राख्छ । यो यथार्थतालाई सरकारले कसरी बुझ्छ ? त्यसैमा विद्रोही नेकपाको भविष्य अन्तर्निहित छ । सरकारले विप्लव माओवादीका गतिविधिलाई सुरक्षा चुनौति होइन, राजनीतिक चुनौति देख्न सक्नुपर्छ ।

अहिले नै जनता अर्को क्रान्तिका लागि तयार छैनन् । विज्ञान प्रविधिको युगमा विप्लवको ‘एकीकृत क्रान्ति’ले जादु गर्दैन । तर, राज्य भाँडमा जान सानै शक्ति काफी हुन्छ । यतातिर सरकारले कहिले सोच्छ ? जनअपेक्षातिर आफूलाई कहिले ढाल्छ ? उल्टो दिशातिर कुदिरहेको सरकारी गाडी ‘युटर्न’ गरेर कहिले गियर बदल्छ ? त्यो भने प्रतीक्षा गर्नैपर्छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
You might also like
Comments
Loading...