Spread the love
  • 37
  •  
  •  
  •  
  •  
    37
    Shares

आज माओ जयन्ती : को हुन् माओत्सेतुङ (जीवनी)

0

माओत्सेतुङको जन्म २६ डिसेम्बर १८९३ मा चीनको हुनान प्रान्तको स्याङतान जिल्लाको पहाडी गाउँ साओ साङचुङमा भएको थियो । माओत्सेतुङले एउटा अर्ध सामन्ती र अर्धऔपनिवेशिक मुलुक गरिने क्रान्तिको रणनीति र कार्यनीतिको निक्र्यौल गरे । माओले चिनियाँ समाजको वर्गविश्लेषण, ग्रामीण वर्गसङ्घर्षको सिद्धान्त, माक्र्सवाद, लेनिनवादलाई सिर्जनात्मक रूपले चिनियाँ क्रान्तिमा प्रयोगको सन्दर्भमा युगान्तकारी सफलता हात पारे ।

उनले लालसेनाको निर्माण, छापमार युद्ध, गाउँदेखि शहर घेर्ने दीर्घकालीन जनयुद्धको सिद्धान्त प्रतिपादन गरे । पार्टी, सेना र संयुक्त राजनीतिक मोर्चालाई क्रान्तिकारी तीन जादुमयी हतियार भन्ने संश्लेषण गरे । क्रान्ति बन्दुकको नालबाट निस्कन्छ भन्ने निष्कर्षसहित चिनियाँ नयाँ जनवादी क्रान्तिको नेतृत्व गरे । मजदूर–किसान एकतामा आधारित क्रान्तिको नेतृत्व सर्वहारावर्गको अग्रदस्ता कम्युनिस्ट पार्टीले गर्नुपर्दछ र क्रान्तिको चरित्र नयाँखाले पूँजीवादी क्रान्ति अर्थात नयाँ जनवादी क्रान्तिको नाम दिए र चीनमा सन् १९४९ मा माओकै नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो ।

माओत्सेतुङले विकसित गरेको राजनीतिक सिद्धान्तलाई माओवाद भनिन्छ । उनका प्रमुख सिद्धान्तहरूमा अन्तरविरोध निरन्तरताबारेको सिद्धान्त, जनयुद्धको धारणा संयुक्त मोर्चा सम्बन्धी सिद्धान्त, क्रान्तिको साधन, जनताको भूमिकाबारेको विचार, निरन्तर क्रान्तिको सिद्धान्त, महान् सर्वहारा सांस्कृतिक क्रान्तिको विचार, नौलो जनवादको अवधारणा, दीर्घकालिन जनयुद्ध प्रमुख रहेका छन् ।

विपरित तत्वको एकताको नियमलाई द्धन्द्धवादको आधारभूत नियमका रूपमा विश्लेषण गरेर उनले द्धन्द्धवादको विकासमा नयाँ आयाम थपेका थिए । उनले पदार्थ र गतिको अन्योन्याश्रित सम्बन्धमाथि भिन्नता र एक अर्कोमा रूपान्तरण हुने तथ्य अगाडि सारेका निए । हरेक चीजमा विपरित तत्वको अस्तित्व मात्रै हुने नभएर देश, काल र परिस्थिति अनुसार ती एक अर्कोमा रूपान्तरित हुने कुराबारे जोड दिएका थिए । अर्धसामन्ती र अर्ध औपनिवेशिक मुलुकहरूमा नयाँ विकसित परिस्थितिको सन्दर्भमा साम्राज्यवादविरोधी र सामन्तवादविरोधी जनवादी क्रान्ति हुने कुराको निक्र्यौल गरेका थिए । उनले त्यसलाई नयाँ जनवादी क्रान्ति भनेका छन् । उनले किसानको क्रान्तिकारी भूमिकालाई पहिचान गरी क्रान्तिमा सफलतापूर्वक प्रयोग र आम जनसमूहको बीचमा रहेर जनयुद्धको सञ्चालन गर्ने नियमको समेत विकास गरेका थिए ।

माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई चीनको अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा लागू गरेर सर्वहारा वर्गको नेतृत्वमा, मजदूर–किसान एकताको आधारमा सामन्तवाद र साम्राज्यवादविरोधी विभिन्न वर्ग, तह र तप्कका जनसमुदायको संयुक्त मोर्चा निर्माण गरेर नयाँ जनवादी गणतन्त्रको स्थापना गरेका थिए । माओले प्रगतिशील भूमिसुधार, सहकारी आन्दोलन, महान् फड्को, जनकम्युन सञ्चालन गर्दै समाजवादी क्रान्ति र समाजवादी निर्माणको कार्यलाई अगाडि बढाएका थिए । माओले तेश्रो विश्वको सिद्धान्त प्रतिपादन गरी विकासोन्मुख मुलूकलाई तेश्रो विश्वको मान्यता स्थापित गरेका थिए ।

सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भयो । चीन–जापान युद्धपछि चिनियाँ कम्युनिष्ट पार्टीको प्रत्यक्ष नेतृत्व माओका हातमा आयो । चिनियाँ कम्यनिष्ट पार्टीले च्याङकाइसेकका विरुद्ध जनवादी क्रान्तिको नेतृत्व मात्र गरेन, सन् १९३१ देखि १९४५ सम्म जापानका विरुद्ध राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व पनि गर्यो । माओकै नेतृत्वमा चुनौतिपूर्ण लम्बे अभियान पनि चल्यो ।

माओले द्धन्द्धात्मक भौतिकवादको सारतत्वको रूपमा अन्तरविरोधको नियम विपरितहरूको एकताको नियमको उद्घाटन र व्याख्या, एकको दुइमा विभाजनको समृद्ध व्याख्या र प्रयोग, ज्ञान सिद्धान्तको क्षेत्रमा पदार्थको चेतना र चेतनाको पदार्थमा रूपान्तरणको दुई छलाङको सिद्धान्तको रूपमा विकास र व्याख्या, आधार र उपरिसंरचना उत्पादक शक्ति र उत्पादन सम्बन्ध सिद्धान्त र व्यवहार बीचको द्धन्द्धात्मक सम्बन्धको व्याख्या, विवेचना र परिमार्जन, नयाँ जनवाद दीर्घकालीन जनयुद्ध, नोकरशाही पूँजीवाद, सर्वहारा अधिनायकत्वअन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्त तथा महान् सर्वहारा सांस्कृतिकको मूख्य कडी मान्ने क्रान्तिलाई पकड्ने र उत्पादनमा जोड दिने, इतिहास निर्माणमा जनसमुदायको भूमिका दर्शनलाई जनसमुदायमा पुर्याउनुपर्ने कुरामा जोड, विश्वदृष्टिकोण र कार्यदिशा बीचको अन्तरसम्बन्धको प्रस्तुती वर्गसङ्घर्ष तथा दुइलाइन सङ्घर्षका समस्याहरूको समाधानका लागि रणनीति तथा कार्यनीतिको विकास र संशोधनवादका विरुद्ध लगायतका नयाँ सिद्धान्त अघि सारे ।

माओले सन् १९६० को दशकमा क्रान्तिकारी विचार र समाजवादका पक्षमा रुससँग महान् बहस गरे । सन् १९५६ मा रुसमा ख्रुश्चेव नेतृत्वमा आएपछि शान्तिपूर्ण संक्रमण, शान्तिपूर्ण विकास र सहअस्तित्वको एजेण्डा अघि सारे । माओले त्यसको वैचारिक प्रतिवाद गरे । माओका अनुसार माक्र्सवाद र साम्राज्यवाद एकापसमा मिल्न सम्भव नै छैन, एकले अर्कोलाई निलेर मात्र यसबाट निकास निस्कन्छ ।

सन् १९२१ को जुलाईमा संघाइमा माओ लगातार १२ जनाले चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । माओ आजीवन चिनियाँ कम्युनिष्ट पार्टीकै सदस्य रहे । माओले दीर्घकालीन जनयुद्धको नेतृत्व गर्दै जापानविरोधी गृृहयुद्ध र च्याङकाइसेक विरुद्धको युद्धपछि सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना गरे । सन् १९५६ देखि १९७६ सम्म सर्वहारा सांस्कृतिक क्रान्तिको नेतृत्व गरे । ९ सेप्टेम्बर १९७६ मा ८२ वर्षको उमेरमा माओको निधन भयो ।

Spread the love
  • 37
  •  
  •  
  •  
  •  
    37
    Shares
You might also like
Comments
Loading...