भरतपुर, पुस । पूर्ण विधि पुर्याएर श्रीमतीको किरिया बसेका नारायणगढका व्यवसायी दिगम्बर पियाले समाजमा नयाँ अभियानको थालनी गरिदिएको चितवनका महिला अभियन्ताहरुले बताएका छन् । शनिबार उनको निवास नारायणगढ बालकुमारीचोकमा पुगेर समवेदना व्यक्त गर्दै श्रीमान् र श्रीमतीको सहअस्तित्वलाई व्यवहारिक रुप दिन पियाको कदम उदाहरणीय भएको बताए ।
यौनजन्य हिंसाविरुद्धको साझा अभियान नामाकरण गरी एकजुट भएका ५० भन्दा बढी संघसंस्थाका महिला अभियन्ताहरु एकैसाथ समवेदनाका लागि पुगेका थिए । सो क्रममा पियाले सामाजिकरुपमा नयाँ काम गरेको देखाउन श्रीमतीको किरिया नबसेको प्रष्ट्याए । “उनी मेरी श्रीमती थिइन्, जसलाई म प्रेम गर्थें,” भावविह्वल उनले भने, “प्रेम जीवन छउञ्जेलका लागि मात्र होइन, मृत्युपछि छ र रहन्छ ।”
हाम्रो समाजमा श्रीमानले श्रीमतीको किरिया बस्नु हुँदैन भन्ने चलन बसालिएको छ । श्रीमानको निधनमा श्रीमतीले १३ दिन किरिया बस्ने, लगाउँदै आएको पहिरनसमेत जीवनभरका लागि बदल्नुपर्ने नियम रहेको समाजमा श्रीमान् भने श्रीमतीको मृत शरीरलाई घाटसम्म पनि साथ दिनुपर्दैन भन्ने मान्यता छ ।
तर, पियाले आफ्नी श्रीमतीको निधनमा घाट मात्र गएनन्, कपाल मुण्डन गरेर सेतो वस्त्रधारण गरी किरिया बसिरहेका छन् । आमा समान भाउजूको किरिया गर्न तयार भएका भाइलाई समेत सम्झाउँदै पिया आफै किरियामा बसेका छन् । श्रीमतीको निधनमा परेको चोटबाट विक्षिप्तजस्तै बनेका दाजुलाई किरिया बस्दा गाह्रो हुन्छ भनी सम्झाउने कोशिस गरेपनि उनले नमानेको भाइ द्वारिकाकुमार पियाले बताए ।
“हामीले त दाइलाई भाउजूको सम्झनाले गाह्रो हुन्छ भन्ने सोचेर किरिया नबस्न भनेका थियौं”, उनले भने, “तर केही आफन्त र छरछिमेकले त दागबत्ती दिए, अर्को बिहे गर्न मिल्दैन भन्दै रोक्न खोजे ।” उनीहरुले गाली गर्दै दाइले बेवकुफी गर्न लागेको, पछि बिहे गर्न पाउँदैन जस्ता कुरा गरेको उनले बताए ।
पियाकी एक छोरी छन् भने तीन दाजुभाइ र उनीहरुका ६ छोरा छन् । उनकी पत्नी उमा विगत आठ वर्षदेखि बिरामी थिइन् । उनको गत पुस १४ गते ५६ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । श्रीमतीको उपचारको समयदेखि नै श्रीमतीप्रतिको समर्पण उदाहरणीय रहेको पियाकी दिदी रेनु श्रेष्ठले बताइन् । भाइले बुहारीको किरिया बसेर श्रीमतीसँगै सबै महिलाहरुको सम्मान गरेको उनको भनाइ छ ।
प्रेमभाव र श्रद्धासहित किरिया बसेका पियाको कदमले समाज रुपान्तरणमा टेवा पुग्ने सांसद् रीना गुरुङले बताइन् । “महिलालाई समान अधिकार उनको जन्म र मृत्युका बेलामा पनि उत्तिकै आवश्यक छ”, सांसद गुरुङले भनिन्, “उहाँको यो कदमले महिलाको मृत्युमा दिइने सम्मान बढाउन मद्दत पुग्नेछ ।”
समाजको रुढीवाद अन्त्य गर्न पियाजस्ता हिम्मतिला व्यक्तिको खाँचो रहेको यौनजन्य हिंसाविरुद्धको साझा अभियान चितवनका संयोजक मीना खरेलले बताइन् । “श्रीमतीले श्रीमानको किरिया गर्नुपर्छ । तर, श्रीमानले पर्दैन भन्ने पुरुषवादी समाजले बनाएको विभेदकारी नियम मात्र हो ।”
संयोजक खरेलले भनिन्, “उहाँको यो कदम अरुका लागि उदाहरण बन्नेछ ।” उद्योग वाणिज्य संघ–चितवनका महिला संयोजक रजनी मास्केले श्रीमतीको किरियामा बसेका पियाको कदम सामाजिक रुपमा एक विद्रोह नै भएको बताइन् ।