स्टुडेण्ट भिसामा यसरी जानुस् अस्ट्रेलिया

Aus_Flag-1400w
लाेकपाटी न्यूज

काठमाडौं । उच्च शिक्षाका लागि अस्ट्रेलिया जानेको संख्या वर्षेनी बढदो छ । नेपालबाट मात्रै होइन, अन्य देशहरुबाट पनि उच्च शिक्षाका लागि विदेसिनेको संख्या ठूलो छ । विश्वभरमा वर्षेनी ५ मिलियन विद्यार्थी उच्च शिक्षाका लागि विदेसिने गरेका छन् । र, यो प्रत्येक वर्ष १० प्रतिशतका दरले बृद्धि भइरहेको देखिन्छ ।

उच्च शिक्षाका लागि विश्व मानचित्रमा अस्ट्रेलियाको नाम अग्रपंक्तिमा आउँछ । गुणस्तरीय शिक्षा आर्जन गरेर सुरक्षित करिअर निर्माण गर्ने अभिलाषामा रहने जो कोहीलाई अस्ट्रेलियाको चमकले छोएको पाइन्छ । अस्ट्रेलिया, एउटा यस्तो देश हो, जहाँ हजारौं व्यक्तिहरु आफ्नो जीवनको सपना साकार बनाउने थलोका रुपमा लिएका छन् ।

अस्ट्रेलियामा विद्यार्थी भिसाको प्रक्रिया सजिलो भएका कारण धेरै विद्यार्थीहरु त्यसतिर आकर्षित भएका छन् । त्यताको उच्चस्तरीय जीवनशैली र पढाइको कारणले गर्दा थुप्रै विद्यार्थीहरु नेपालमा प्लस–टुसम्मको अध्ययन पूरा गरेपछि अस्ट्रेलिया जाने होडमा हुन्छन् । हजारौंको होडबाजीमा धेरै कमले मात्र आफ्नो सपना पूरा गर्ने मौका पाउँछन् । अस्ट्रेलिया जाने भनेर होड गरेर मात्र नहुने सबैलाई थाहा छ । यसका लागि आवश्यक शैक्षिक योग्यता, वित्तीय योग्यता र सही प्रक्रिया अपनाउनु पनि उत्तिकै जरुरी हुन्छ ।

न्यूनतम कक्षा १२ पास गरेपछि मात्र उच्च शिक्षाको लागि अष्ट्रेलिया जान योग्य भइन्छ । कक्षा ११ र १२ को अंक मिलाएर कुल ६० प्रतिशत वा सोभन्दा माथि ल्याएको हुनुपर्दछ । यसका साथै विद्यार्थीले एसएलसीमा प्राप्त अंकले पनि भिसाका लागि थप सपोर्ट मिल्छ ।

आवश्यक शैक्षिक योग्यता पूरा भइसकेपछि विद्यार्थीले आईईएलटीएसको परीक्षा दिनुपर्ने हुन्छ । जसको म्याद २ वर्षसम्म कायम रहन्छ । उक्त परीक्षामा सामान्यतः ६.० अंक ल्याउनु पर्छ । यदि कुनै विद्यार्थीले ५.५ अंक ल्याएको छ भने पनि उसले प्रक्रिया सुरु गर्न त पाउँछ । तर, यस्तो अवस्थामा उसलाई कलेजले एडमिसन लेटर नदिने सम्भावना पनि हुन्छ ।

अस्ट्रेलिया पढ्न जानका लागि शैक्षिक योग्यता मात्र राम्रो भएर पनि हुँदैन । यसका साथै आर्थिक हिसाबले पनि योग्य हुनुपर्दछ । आर्थिक आवश्यकताहरुमा आफ्नो परिवारको आर्थिक स्रोत कम्तिमा ८० देखि ९० लाख देखाउनुपर्ने हुन्छ । साथै घर जग्गाको मूल्याङ्कन सबै गरेर कम्तिमा ३० देखि ३५ लाख बैंक ब्यालेन्स वा एजुकेशनल लोन देखाउनुपर्ने हुन्छ ।

कलेजले मागेअनुरुपको शैक्षिक योग्यता र वित्तीय योग्यताको राम्रो मेल हुन सक्यो भने भिसा लाग्ने संभावना धेरै हुन्छ । त्यसैले आबश्यक कागजात जुटाउँदा निकै ध्यान दिनुपर्ने चितवनको भरतपुर लाइन्स चोकस्थित (Option Educational consultancy) का सञ्चालक तथा युवा समाजसेवी सुरेश बास्तोला बताउँछन्।

बास्तोला भन्छन्, ‘विदेश पढ्न जानेजस्तो कुरा आवश्यक तयारी गरेर जानुपर्छ । जाने बेला कागजात नमिलेका कारण विद्यार्थीले पछि दुःख पाउन पनि सक्छन् । सबै कागज पत्र राम्रोसँग मिलाएर, भाषामा दक्ष भएर जाने विद्यार्थीले राम्रो प्रगति गरेका छन् । हामीले पनि मुनाफाभन्दा विद्यार्थीको भविष्यलाई ठूलो ठान्नुपर्छ ।’

जसमा एक वर्षको पढाइ शुल्क, त्यहाँ रहँदासम्मको स्वास्थ्य बीमा, एक वर्षको बसाई खर्च तथा रिटर्न टिकट सहितको शुल्क बुझाउनुपर्छ । साथै बैंकबाट लिएको लोन वा बैंक ब्यालेन्स वा आम्दानीको स्रोत देखाउनुपर्ने हुन्छ । शैक्षिक योग्यता, आर्थिक आवश्यकता, अन्य आवश्यक कागजातहरु तयार गरिसकेपछि एउटा भरपर्दो शैक्षिक परामर्श केन्द्रमा गएर काउन्सलरको सल्लाह अनुसार प्रक्रिया अगाडि बढाउन सकिन्छ । अस्ट्रेलिया जाँदा परामर्श केन्द्रबाट नै सबै प्रक्रियाहरु गर्दा राम्रो हुन्छ । सबै कागजपत्रहरु तयार पारिसकेपछि आफूले छानेको कलेज र विषयमा आफू स्पष्ट हुनुपर्छ ।

उक्त कागजातको आधारमा सबै कुराहरु पुष्टि भइसकेपछि कलेजले एडमिसन लेटर पठाउँछ । त्यसपछि सम्बन्धित कलेजले विद्यार्थीको आर्थिक प्रमाणिकरण माग्छ । उक्त प्रमाणिकरण पत्रलाई कलेजले स्विकारेपछि विद्यार्थीलाई ६ महिना वा एक वर्षसम्मको शुल्क तिर्न प्रस्ताव राख्छ । सामान्यतः विद्यार्थीहरुले १ वर्षको शुल्क बुझाउने गर्छन् । यी सबै कामहरु पूरा भइसकेपछि कलेजले सीओई (COE) पत्र दिन्छ । अब विद्यार्थीले सबै कागज पत्रहरुलाई भिसा कार्यालयमा पठाउनुपर्छ, नेपालबाट अस्ट्रेलिया अध्ययन गर्नेहरुका लागि भिसा कार्यालय भारतमा छ ।

अन्तमा भिसा अधिकारीले सबै कुरा चेकजाँच गरेर सबै कागज पत्रहरु सत्य र विश्वसनीय भएमा भिसा प्रदान गर्छ । यदि कुनै विद्यार्थीप्रति कुनै कुराको शंका लाग्यो भने उनीहरुले फोन तथा स्काइपको माध्यमबाट सामान्य अन्तर्वार्ता समेत लिन सक्छन् । कुनै विद्यार्थीको मामिलामा भिसा यतिकै पनि अस्वीकार हुन सक्छ । भिसाका लागि अप्लाई गरेको १५ दिनदेखि १ महिनाभित्र सामान्यतः भिसा आइसक्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्