सांसद चौधरीलाई रिहा गर्न सर्वोच्चद्धारा अस्विकार

resham-chaudhary01
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २३ पुस । सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई रिहा गर्न अस्विकार गरेको छ । चौधरीको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले सोमबार उनलाई रिहा गर्न अस्विकार गरेको हो ।

गत पुस १९ गते प्रतिनिधिसभा सदस्यको सपथ लिएका उनीमाथिको कर्तव्य ज्यान मुद्दा आज पेशीमा चढेको थियो । सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडा र पुरुषोत्तम भण्डारीको इजलासले कैलाली जिल्ला अदालतको आदेश मिलेकै देखिएकाले उक्त आदेश खारेज नहुने आदेश गरेको हो ।

चौधरीमाथि जाहेरीकर्ताले किटानी पोल गरेको र सहअभियुक्तहरुले बयानमा पनि चौधरीको निर्देशनमा घटनामा संलग्न भएको बयान दिएका थिए । चौधरीले कसुर गरेको भनी विश्वास गर्न सकिने पर्याप्त र मनासिव आधार विद्यामान रहेको भन्ने २०७४ फागुन १४ को जिल्ला अदालतको आदेश र उच्च अदालत दिपायलको २०७४ चैत २२ को आदेश मिलेकै देखिने आजको आदेशमा भनिएको छ ।

कैलाली क्षेत्र नम्बर १ राजपाबाट प्रत्यक्षतर्फ निर्वाचित भएका उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाको आदेशविरुद्ध चौधरी २०७५ असार ५ गते सर्वोच्च पुगेका थिए ।