काठमाडौं,२६ पुस । जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा आपसी हितका सन्दर्भमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि हिजो विदेशमन्त्री तारोले आफ्ना समकक्षी प्रदीप ज्ञवालीसँगको भेटवार्ता गरे थिए । सो क्रममा जापान सँगको सिधा हवाई उडानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
२५ वर्षअघि भएको हवाई सम्झौता गत असारमा नवीकरण गरिएको थियो । सोही सम्झौताअनुसार कूटनीतिक नोटमा हस्ताक्षर भएपछि अब जापानमा सिधा हवाई उडान गर्न बाटो खुलेको छ ।
सहमतिअनुसार अब नेपाल एयरलाइन्सले सातामा १४ वटा उडान भर्न पाउने छन् भने नेपालले फागुनमा गर्न लागेको लगानी सम्मेलनमा बढीभन्दा बढी लगानीकर्ता, व्यापारी र उद्योगी पठाइदिन जापानसँग आग्रह समेत गरेको छ ।
२ दिने नेपाल भ्रमणका लागि हिजो काठमाडौं आएका तारो आजै जापान फर्कने कार्यक्रम छ ।