वाशिङ्गटन डिसी, २६ पुस । अमेरिकाको राज्य तहको डेलिगेटमा विजयी भएका नेपाली मुलका ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिएका छन् ।
उनले हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लिएर शपथ लिएका हुन् । अमेरिकाको इतिहासमा हाउस अफ डेलिगेटमा विजयी हुने भण्डारी पहिलो नेपाली हुन्। ।
शपथग्रहण पश्चात भण्डारीले उनले अमेरिकामा आएर यो तहको सफलता हासिल गर्छु भन्ने नसोचेको बताउदैँ अमेरिकाले उनलाई दिएको अवसरका लागि म आभार व्यक्त गरे ।
उनले भने, ‘म एउटा वयष्क उमेरमा अमेरिका आएर यो उपलब्धि हासिल गर्न सफल भएको छु, यही भूमिमा जन्मिएका नेपाली मूलका अमेरिकीले अझ फराकिलो इतिहास निर्माण गर्नसक्छन् भन्नेमा म पूर्ण विश्वस्त छु ।’
अमेरिकामा करिव तीन लाख नेपाली र अन्य तीन लाख नेपालीभाषी गरी करीब छ लाख नेपाली बस्दै आएका छन् । यसरी निर्वाचित भएर राजनीतिक तहको जिम्मेवारी लिने भण्डारी पहिलो नेपाली मूलका अमेरिकी नागरिक बनेका छन् ।
यसैबीच भण्डारीले आफूले ‘हेल्थ तथा गभर्नमेन्ट रिलेशन कमिटी’को हैसियतले मेरिल्याण्डका बासिन्दाका लागि राम्रो र सर्वसुलभ स्वास्थ्यका लागि पहल गर्ने प्रतिक्रिया दिए । उनले आफनो सचिवालय रहने स्थानमा नेपाल र अमेरिकाको झण्डासमेत राखेका छन् । उनको कार्यकक्षमा सगरमाथाको तस्बीर र नेपालको झण्डालाई सजाएर राखिएको छ ।
भण्डारी गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा २२ हजार ४०७ मत ल्याएर मेरिल्याण्डको हाउस अफ डेलिगेटमा विजयी भएका थिए । उनलेले जितेको पदमा बहाल रहेका सांसदहरूले मेरिल्याण्ड राज्यका लागि आवश्यक पर्ने विभिन्न कानून निर्माण गर्ने र राज्यको बजेट प्रक्रियालाई अनुमोदन गर्ने गर्दछन् ।
उनीहरूले राज्यभित्र रोजगारीको अवसर सिर्जना गर्ने, उद्योग तथा कलकारखानाको स्थापनाका लागि आवश्यक पर्ने कानून बनाउने, काउन्टीहरूलाई विभिन्न तरिकाले बजेट सहयोग गर्ने, विद्यालयको गुणस्तर तथा पूर्वाधारको निर्माणमा सहयोग गर्न सक्नेछन् ।