कुलमानकाे निर्देशन : ‘७ दिनभित्र बिजुलीकाे मिटर दिनू’

kulman ghising
लाेकपाटी न्यूज

काठमाडौं, २६ पुस । नेपाल विद्युत प्राधिकरणले सिंगल फेजको नयाँ मिटर सात दिनभित्रमा जडान गर्ने भएको छ ।

प्राधिकरणले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउन सिंगल फेजको मिटरका लागि निवेदन दिने ग्राहकको मिटर सात दिनभित्रमा जडान गरिदिने प्रतिबद्धता गरेको हो । प्राधिकरणका अधिकांश घरायसी ग्राहकले सिंगल फेजको मिटर प्रयोग गर्छन् ।

यस्तै क्रमश १५ र ३० दिनभित्रमा प्राधिकरणले थ्री फेज र टिओडी नयाँ मिटर जडान गरिदिने पनि बताएको छ । प्राधिकरणका अनुसार सेवा प्रवाहलाई प्रभावकारी बनाउन र कर्मचारीलाई अझै जिम्मेवार बनाउन यस्तो व्यवस्था गरिएको हो ।

नयाँ मिटर जडानमा समस्या रहेको र कर्मचारीले अनावश्यक दुःख दिने गरेको ग्राहकबाट गुनासो आएपछि प्राधिकरणले ग्राहक तथा वितरण केन्द्रले कार्यसम्पादन अवधिसहितको प्रतिबद्धता पत्र फ्लेक्समा प्रिन्ट गरी सबैले देख्ने ठाउँमा राख्न निर्देशन दिएको छ । अब हरेक वितरण केन्द्रले आफूले प्रदान गरिने सेवा, कार्यसम्पादन अवधी र सम्पर्क व्यत्तिको नाम तथा सम्पर्क मोवाइल नम्बर समेटिएको विवरण कार्यालय परिसरमा ग्राहकले देख्ने ठाउँमा राख्नु पर्ने छ ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनायले प्रतिबद्धता पत्र आफू मातहतका कार्यालयहरुमा राख्न ८ वटै क्षेत्रीय कार्यालयहरुलाई परिपत्र गरिसकेको छ ।
सिंगल फेजको मिटर जलेमा वा बिग्रेमा एक दिन, थ्री फेजको तीन दिन र डिओडी १० दिनभित्रमा जडान तथा मर्मत गर्ने प्रतिबद्धता प्राधिकरणले जनाएको छ ।

सर्भिस केवल तथा वितरण लाइन बिग्रेमा १२ बजेसम्म जानकारी आएको त्यही दिन र त्यसपछिको भोलिपल्ट मर्मत गरिने छ । यसैगरी, मिटर रिडिङ र बिलसम्बन्धी समस्या १२ बजेसम्म जानकारी आएको त्यही दिन र त्यसपछिको भोलिपल्ट समाधान गर्ने प्राधिकरणले जनाएको छ ।

मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी वक्यौता असुल गर्ने, स्तरीय, भरपर्दो तथा सुरक्षित विद्युत सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरवृद्धि गर्ने, निर्माणाधीन जलविद्युत तथा प्रसारण लाइनको निर्माणलाई तीव्रता दिनेलगायतका काममा केन्द्रित भएका छन् ।

चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सवस्टेसनको सुदृढीकरणलगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।

घिसिङले ग्राहक सेवा सुधारका लागि ग्राहक सेवासम्बन्धी प्रतिबद्धता हरेक कार्यालयमा टाँसी सोही अनुसारको काम गर्न निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्