इलाम, २७ पुस । बुधबारबाट इलाममा १६ औं अनशन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थमा समस्या देखिएको छ । शरीरमा पसिना आउने र छाती दुख्ने भएपछि इलाम अस्पतालका डाक्टरहरुको टोलीले बिहीबार राति केसीको चेकजाँच गरेका छन् ।
स्वास्थ्य परीक्षणका क्रममा रक्तचाप कम भएको र लक्षण हेर्दा सुगर कमी भएको अनुमान गरे पनि डा. केसीले सुगर चेक गर्न नदिएको डाक्टरहरुको भनाइ छ । डा. केसीको १६औं सत्याग्रह आज शुक्रबार तेस्रो दिन पनि जारी छ ।
सरकार र आफूबीच भएको सहमतिविपरीत संसद्को शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन बहुमतका आधारमा पारित गरेको भन्दै डा. केसी इलाममा १६औं अनशनमा बसेका हुन् ।
सहरी विकास तथा भवन निर्माण विभागको पुरानो कार्यालय रहेको व्यक्तिको निजी घरमा केसीले आफ्ना केही समर्थकका साथ अनशनमा बसेका छन्।
गत बुधबार बिहान बसेको संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकले सांसद भैरबबहादुर सिंहको संयोजकत्वमा गठित उपसमितिले पेश गरेको प्रतिवेदनलाई बहुतमतका आधारमा पास गरेको थियो।
आफूसँग भएको सहमतिअनुसार विधेयक पारित नभएसम्म लडाइ जारी राख्ने केसीले बताएका छन्। संसदको पूर्ण बैठकले सहमतिअनुसार विधेयक परिमार्जन गर्नुपर्ने उनको अडान छ।