‘क्यान्सरविरुद्ध मिलेर लडौं’ : मन्त्री बिना मगर

Bina magar
लाेकपाटी न्यूज

भक्तपुर । खानेपानी मन्त्री बिना मगरले घर परिवार र समाजले क्यान्सर भएका बिरामीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएकी छिन् ।

भक्तपुर क्यान्सर अस्पताल परिसरमा शनिबार क्यान्सर सर्भाइभ क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै खानेपानी मन्त्री मगरले रोग लाग्यो भन्दैमा बिरामीहरुलाई हेर्ने नजर घर परिवारले परिवर्तन गर्न नहुने बताएकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘रोगसँग लड्ने आत्मबल बलियो बनाऔं । जब आत्मबल कमजोर हुन्छ अनि हामी बिरामी पर्छौ । त्यसैले क्यान्सर भएका बिरामीहरुलाई आग्रह गर्छु, आत्मबल दरो बनाई गाउँ समाजमा सान्त्वना दिनुहोला ।’

उनले क्यान्सरलाई भयावहको रूपमा होइन कि सामान्यीकरण गर्नुपर्ने बताइन् । गाउँ र टोल टोलमा क्यान्सरबारे चेतना जागृत गराउन उनले सबैलाई आग्रह गरिन् । कार्यक्तममा उनले भक्तपुर क्यान्सर अस्पतालमा थप खानेपानी पानीको व्यवस्थापन गर्न सहयोग हुने बताइन् ।

मन्त्री मगरले भक्तपुर क्यान्सर अस्पतालमा प्रसुनदेवी घिराइयाको आर्थिक सहयोगमा निर्माण भएको शुद्ध पिउने पानीको उद्घाटन समेत गरिन् । शुद्धीकरणसहितको उक्त पिउने पानी करिब १२ लाख लगानीमा तयार भएको हो । कार्यक्रममा उक्त अस्पताललाई २३ लाख बराबरको अल्ट्रासाउन्ड मेसिन खरिद गर्न सहयोग पुर्याउनु हुने समाजसेवी रिना श्रेष्ठ र प्रसुन देवी घिराइयालाई सम्मान गरिएको थियो ।

यसै बीच क्यान्सर पीडित व्यक्तिहरुले मन्त्री मगरसँग भेटघाट गर्दै सरकारले योग्यताअनुसारको जागिरको ब्यवस्था गर्नुपर्ने र महिनाको ५ हजार दिने सरकारको निर्णयलाई निरन्तरता दिनुपर्ने लगायतका माग राखेका थिए । उनीहरूको माग बुझ्दै मन्त्री मगरले आफ्नो तर्फबाट आवश्यक पहल गर्ने बताइन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्