अनशनरत डा. केसी अस्पताल भर्ना

Govinda KC
लाेकपाटी न्यूज

इलाम, ३० पुस । चिकित्सा शिक्षामा व्यापक सुधारलाई मूख्य माग राखी ६ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीलाई अस्पताल लगिएको छ ।

डा. रामकृष्ण आचार्यले अनशनरत डा. केसी मुटुको चाल अनियन्त्रित भएपछि जिल्ला अस्पताल लगिएको जानकारी दिए । यसअघि उनी इलामका धर्म गौतमको घरमा अनशन बसिरहेका थिए । डा. आचार्यका अनुसार केसीलाई अस्पतालको बहिरंग विभागमा राखिएको छ । उनलाई जिल्ला अस्पतालका चिकित्सकहरुले चेकअप गरेका छन् ।

केसीको स्वास्थ्य अवस्था कमजोर भएको र शरीरमा ग्लुकोजको मात्रा घटेको तथा मुटुको चालमा गडबडी देखिएकाले उनलाई जिल्ला अस्पताल लगिएको चिकित्सकहरुले जानकारी दिएका छन् ।

उता इलाममा कार्यरत चिकित्सकहरु डा. केसीको अनशनलाई समर्थन गर्दै र्‍याली निकाल्ने तयारीमा छ । सोमबार बिहान ११ बजे र्‍याली निकालिन लागेको बताइएको छ ।