काठमाडौं, ३ पुस । सोसल मिडिया कम्पनी फेसबुकले पत्रकारिता क्षेत्रमा लगानी गर्ने भएको छ । कम्पनीले आगामी ३ वर्षमा पत्रकारिताको क्षेत्रमा ३०० मिलियन डलर लगानी गर्ने घोषणा गरेको हो ।
फेसबुकले आफ्नो कयौं प्रोजेक्ट्सका माध्यमबाट स्थानीय खबरलाई बढावा दिने बताइएको छ । खबरका अनुसार डिजिटल युगमा मानिसहरूले सहज रूपमा स्थानीय खबरको जानकारी पाइरहेका हुँदैनन । राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चाका विषयले मात्र समाचारमा बढी स्थान पाउने हुदाँ स्थानीय खबरलाई समेत बढावा दिनका लागि फेसबुकले उक्त कदम उठाउन लागेको बताइएको छ ।
कम्पनीका ग्लोबल न्यूज पार्टनरशीपका उपाध्यक्ष कम्बेल ब्राउनले फेसबुकले यो लगानी समाचार कार्यक्र्रम, पार्टनरशीप र विषयबस्तुमाथि गर्ने बताए । उनले भने, ‘फेसबुकको यो कदमबाट ती अखबारहरूलाई फाइदा पुग्नेछ, जसको प्रचार संख्यामा लगातार कमी देखिइरहेको छ ।’
फेसबुकले राष्ट्रिय खबरलाई आफ्नो प्लेटफर्ममा स्थान दिनुको सट्टा स्थानीय खबरलाई बढावा दिने बताएको छ । मानिसहरू आफ्नो स्थानीय खबर र मुद्दामा बढी चासो राख्ने र स्थानीय विषयबस्तु नै पढ्न रूचाउने भएकाले फेसबुकले यो कदम उठाउन लागेको हो ।
कम्पनीले टुडे इनको नामबाट एउटा नयाँ फीचर लन्च गरेको छ, जसमा प्रयोगकर्ताहरूलाई हराएका व्यक्ति, सडक बन्द, अपराध समाचार, स्कूल तथा कलेजसँग सम्बन्धित खबरहरू दिइरहेको छ । हाल यो फीचर केबल अमेरिका र अस्ट्रेलियामा मात्रै सुरू गरिएको छ ।