गगनको प्रश्न- प्रधानमन्त्रीज्यू, तपाईं किन जीतको बाटो रोज्नु हुन्नँ ?

gagan Thapa
लाेकपाटी न्यूज

काठमाडौं, ३ माघ । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले चिकित्सा शिक्षा विधेयक परिमार्जन गरी तत्काल समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।

उनले डा. केसीको माग पूरा गरेर प्रधानमन्त्रीलाई जीतको बाटो रोज्न आह्वान गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘मेरो अनुरोध छ डा. केसीसँगको सम्झौताको मान रहने, काँग्रेसलाई दिएको वचन पूरा हुने, काठमाडौं बाहिर मेडिकल शिक्षाका नयाँ संस्थाहरु सुरु हुने लगायतका चिकित्सा शिक्षाका क्षेत्रमा सुधारको नयाँ यात्रा प्रारम्भ हुने यो सबै हुँदै गर्दा तपाईको जीत नै जीत हो । किन जीतको बाटो चाहनुहुन्न वा सक्नुहुन्न ? जनताको जीत र आफ्नो जीतभन्दा ठूलो अरु कुन स्वार्थ होला र प्रधानमन्त्रीज्यू !

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेता थापाले डा. गोविन्द केसीसँग भएका विगतका सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक परिमार्जन गरी समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका हुन् । संसदीय समितिले बुहमतको आधारमा विधेयक पारित गरेको विधेयक माथेमा आयोगको प्रतिवेदनको सुझाव र डा. केसीसँग गरिएका सम्झौताविपरीत भएको टिप्पणी गरे ।

उनले हालै संसदीय समितिबाट बहुमतले पारित भएको विधेयकले चिकित्सा शिक्षामा सुधार नल्याउने उल्लेख गरे । उनले भने, ‘ डा. केसीसँग विगतमा भएको सम्झौताका बुँदाहरुलाई विधेयक पारित गर्ने क्रममा समावेश गर्न प्रधानमन्त्री ओलीको एउटा आदेशले सम्भव हुँदैन ।’