कलैया, ३ माघ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर काइरालाले वर्तमान सरकारले विकास र समृद्धिको क्षेत्रमा काम गर्न नसकेको आरोप लगाएका छन् । उनले वाइडबडी जहाज खरिद प्रकरणमा जो दोषी भए पनि कार्वाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरे ।
बारा निर्वाचन क्षेत्र नं १ क्षेत्रीय कार्यसमितिले सिम्रौनगढमा आयोजना गरेको आमसभामा उनले बलात्कार, हत्या हिंसा, कालोबजारी, भष्ट्राचार जस्ता कार्य अझै बढेको भन्दै त्यसलाई रोक्न सरकारले नसकेको आरोप लगाए ।
केन्द्रीय सदस्य उमाकान्त चौधरीले बारा निर्वाचन क्षेत्र नं.–१ मा शिक्षा, स्वास्थ्य, बिजुली बत्ती, बाटोघाटो पुल पुलेसा, सिँचाइको प्रबन्ध मिलाउन आफू क्रियाशील रहेको बताए । एक अर्को प्रसङ्गमा नेता चोधरीले मधेशवादी दल सत्ता र शक्तिका लागि राजनीति गरिरहेको आरोप लगाए ।
केन्द्रीय सदस्य कल्याण गुरुङले नेपाली जनतामाथि अन्याय नगर्न वर्तमान सरकारलाई आग्रह गर्नुभयो । पूर्वसांसद डा. शोभाकर पराजुलीले सङ्घीयतालाई नै धरापमा पार्ने खेलमा वर्तमान सरकार लागिपरेको आरोप लगाए ।
कार्यक्रममा जिउँदो शहीदहरु अनुप सहनी र लक्ष्मण बैठालाई सम्मान गरिएको थियो ।