नेपाल उज्यालो युगमा प्रवेश गरिसक्यो : उपराष्ट्रपति पुन

Nanda-Bahadur-Pun pasang
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ४ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धिको आधारका रुपमा रहेको नेपालको ऊर्जा क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रको संयुक्त साझेदारी जरुरी रहेको आवश्यकता औँल्याएका छन् । शुक्रबारदेखि यहाँ शुरु भएको दोस्रो हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्दै उनले नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि लगानीको त्यत्ति धेरै समस्या नभए पनि नीतिगतरुपमा केही सुधार तथा समयानुकूल बनाउनुपर्नेमा जोड दिए ।

विगतमा अत्यास लाग्दो विद्युत्भार कटौतीको युग अन्त्य भएर नेपाल नयाँ उज्यालो युगमा प्रवेश गरेको भन्दै उनले ठूलो मात्रामा रहेको व्यापार घाटा अन्त्य गर्न पनि ऊर्जाको क्षेत्रमा केही न केही नयाँ गर्नैपर्ने अवस्था आइपुगिएको स्पष्ट पारे ।

उनले भने, ‘उज्यालो नेपालको प्रक्रिया अगाडि बढेको भए पनि वर्षेनी भारतबाट विद्युत् आयातको मात्रा बढ्दा त्यसले व्यापार घाटा बढाउँदै गएको छ । त्यसलाई नियन्त्रण गर्न पनि ऊर्जा क्षेत्रमा लगानी बढाउनु जरुरी छ । पेट्रोलियम पदार्थको आयात कम गर्ने उपाय पनि जलविद्युत् क्षेत्रको विकास नै हो । त्यसतर्फ लाग्नैपर्छ ।’

ऊर्जा क्षेत्रको विकास र विस्तारबाट मात्रै औद्योगिकीकरण सम्भव भएको भन्दै उनले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको विस्थापन गर्न पनि विद्युत् नै उपयुक्त साधन भएको बताए ।

उनले अब हरेक घरमा विद्युतीय उपकरणबाट खाना पकाउने प्रणाली जडानमा जोड दिनुपर्ने र विद्युतीय सवारी साधनको प्रवद्र्धनमा लाग्नुपर्ने र सरकारले आफ्ना नीति तथा कार्यक्रम पनि त्यसतर्फ केन्द्रित गर्नुपर्ने सुझाव दिए ।

उनले विकास निर्माणको काममा बढीभन्दा बढी प्रविधिको प्रयोग गर्नुपर्ने र सहजरुपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै भने, ‘सहजै काम हुने र काम गर्ने वातावरण बनाउनु जरुरी छ । क्रमशः त्यस दिशामा सरकार र निजी क्षेत्र पनि केन्द्रित भइरहेको छ । थप बढावा दिनु जरुरी रहेको छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्