कुलमान घिसिङ सम्मानित

Kulman Ghising
लाेकपाटी न्यूज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् । निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको संस्था इप्यानले कार्यकारी निर्देशकको पदमा रहेर देशलाई आर्थिक समृद्धिका साथै उज्यालो नेपालको लागि पुर्याएको योगदानको उच्च कदर गर्दै घिसिङलाई सम्मान गरेको हो ।

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट सुरु भएको हिमालयन हाइड्रो एक्स्पो २०१९मा घिसिङलाई सम्मान–पत्र प्रदान गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यकारी निर्देशक घिसिङलाई सम्मानपत्र प्रदान गरेका हुन् ।

२०७३ को भदौमा ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले ब्यहोरिरहेको कहालीलाग्दो लोडसेडिङको अन्त्य गरेका थिए । कार्यकारी निर्देशकमा नियुक्त हुँदा वार्षिक ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणलाई वित्तीय र प्रशासनिक सुधार तथा पुनर्संरचनामार्फत् खुद नाफामा लैजान घिसिङ सफल भएका हुन् ।
Kulman Ghising

घिसिङले विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हासिल गरेका हुन् । प्राधिकरणले विद्युत् चोरी नियन्त्रण, ग्राहक सेवामा सुधार, महशुल बक्यौता असुलीमा कडाई, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेशनको स्तरोन्नति तथा सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ । उनकै नेतृत्वमा प्राधिकरणले निर्माण गरिरहेको जलविद्युत उत्पादन, प्रशारण लाइन र वितरण आयोजनाका कामले पनि तीव्रता पाएको छ ।

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको चर्चा गर्दै यसलाई पूरा गर्न नै प्राधिकरणले ‘टेक अर पे’मा विद्युत खरिदको नीति लिएको बताए। यस्तो व्यवस्थाले निजी प्रवद्र्धकलाई यस क्षेत्रमा लगानीका लागि वातावरण बनाएको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्