काठमाडौं, ८ माघ । नेपाल सरकारका सहसचिव राजनराज पाण्डेले आफ्नो विदेश भ्रमणको फाइल खानेपानी मन्त्रालयले सदर नगरेपछि मन्त्री बिना मगरविरुद्ध गालीगलौज गरेका छन् ।
सहसचिव पाण्डेले सोमबार खानेपानी मन्त्री बिना मगरलाई घुस्याहा भन्दै मिडियाबाजी गरेका थिए । उनको वक्तव्यबाजीपछि केही मिडियाले पाण्डेको हवाला दिँदै समाचार प्रकाशित गरेका थिए । तर, मन्त्री मगरको निजी सचिवालयले मंगलबार एक जानकारी पठाउँदै पाण्डेको अभिव्यक्तिको खण्डन गरेको हो ।
प्रदेश नं. ७ को कार्यालयको सचिवको जिम्मेवारी दिएर पठाएका पाण्डे मूख्यमन्त्रीसँग झगडा गरेर त्यहाँबाट हिडेका थिए । मूख्यमन्त्री त्रिलोचन भट्टलाई गालीगलौज गरेपछि मूख्यमन्त्रीको कार्यालयले उनलाई खानेपानी मन्त्रालयमा फिर्ता पठाएको थियो ।
तर, खानेपानी मन्त्रालयमा उनको पदीय दरबन्दी नरहेकाले मन्त्रालय मातहतका विभाग वा अन्य कुनै निकायमा जान मन्त्री मगरले निर्देशन दिएकी थिइन् । तर, उनले मन्त्री मगरको कुनै नसुनेर उल्टै मन्त्रीलाई ‘तँतँ–मम’को शैलीमा अश्लिल शब्द प्रयोग गरेका थिए ।
सहसचिव पाण्डे मार्चमा हुने एक कार्यक्रमका लागि जापान जाने तयारीमा थिए । तर, अघिल्लोपटक पनि बिदा स्वीकृत नगराई विदेश भ्रमण गएका कारण मन्त्रालयले उनको भ्रमण स्वीकृत गर्न मानेन । त्यसपछि पाण्डेले मन्त्रीविरुद्ध नै अत्यन्तै अश्लिल व्यवहार देखाएको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।
प्रदेश नं. ७ को कार्यालयबाट खानेपानी मन्त्रालय आएपछि पाण्डेले हालसम्म कुनै काम गरेका छैनन् । सरकारको तलव खाएर तीन महिनासम्म एक दिन पनि उनले सरकारी काम गरेका छैनन् । मंगलबार मन्त्रीका निजी सचिव गुणराज श्रेष्ठले सहसचिव पाण्डेबारे यस्तो जानकारी पठाएका छन्, हेर्नुस् जानकारीको पूर्णपाठ ।
जानकारी सम्बन्धमा
नेपाल सरकारको सहसचिव पदमा कार्यरत राजनराज पाण्डेले माननीय खानेपानी मन्त्रीज्यूका सम्बन्धमा व्यक्त गरेका अभिव्यक्तिप्रति माननीय मन्त्रीज्यूको निजी सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । सहसचिवजस्तो सार्वजनिक पदमा आसिन व्यक्तिबाट यस किसिमका अभिव्यक्ति आउनु आफैंमा दुःखलाग्दो र लाजमर्दो कुरा हो । सहसचिव पाण्डेले माननीय मन्त्रीज्यूप्रति लगाएको आरोप वास्तवमा पूर्वाग्राही र अनुशासनहीनताको पराकाष्ठा हो । निज पाण्डेले आफूलाई जिम्मेवारी नदिइएकोप्रति जुन किसिमको मिडियामा प्रचारबाजी गर्नुभयो, यो कुरा आफैंमा कपोलकल्पित र भ्रामक रहेको स्पष्ट पार्न चाहन्छौं ।
यसअघि सहसचिव पाण्डेलाई नेपाल सरकारले प्रदेश नं. ७ को भौतिक पूर्वाधार मन्त्रालयको सचिव पदमा कामकाज गर्न सरुवा गरी पठाएको थियो । तर, प्रदेश नंं. ७ को उक्त मन्त्रालयमा निजले संघीयता विरोधी कुरा गरी अन्य कर्मचारीहरुलाई समेत प्रदेश कार्यालयमा बस्न हुँदैन भनी भड्काउने र आफूले सचिवजस्तो महत्वपूर्ण पदको कुनै जिम्मेवारी नै बहन नगरेकोले प्रदेश नं. ७ को सरकारले सामान्य प्रशासन मन्त्रालय मार्फत गत भदौ महिनामा खानेपानी मन्त्रालयमा निजलाई फिर्ता पठाएको थियो । निजको दरबन्दी मन्त्रालयमा नभएकाले यस मन्त्रालयमा निजको जिम्मेवारी तोक्न सकिने अवस्था थिएन । मन्त्रालय अन्तर्गतका अन्य निकायहरुमा शाखा तोक्न छलफल गर्दा निजले नमानेको कुरा स्पष्ट गराउँदछौं ।
अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीको आयोजनामा सन् २०१९ को मार्च १८ तारिखदेखि जापानमा हुन लागेको कार्यक्रममा निज पाण्डे आफ्नो निजी सक्रियतामा सहभागी हुनका लागि मन्त्रालय समक्ष फाइल पेश हुन आएको थियो । नेपाल सरकारको अनावश्यक विदेश भ्रमण नगर्ने नीति रहेको तथा मन्त्रालयले पनि अति आवश्यक काम बाहेक विदेश भ्रमण नगर्ने नगराउने निर्देशन गरेको हुँदा निजको विदेश भ्रमण सम्बन्धी फाइल मन्त्रीज्यूले स्वीकृत नगरिदिएपछि निजले मन्त्रीज्यूलाई उल्टै औंला ठड्याई कार्यालय बाहिर निस्किएको र यसको प्रतिशोधको रुपमा माननीय मन्त्रीज्यूलाई लाञ्छना लगाई अमर्यादित रुपमा मिडियाबाजी गर्दै अनुशासनहीन गतिविधि गरिरहेको हुँदा यस्ता भ्रामक समाचारको विश्वास नगर्न आम जनसमुदायमा अपिल गर्दछौं ।
निजी सचिव
(गुणराज श्रेष्ठ)
उपसचिव