संसदमा प्रयोग होला त ‘रामचन्द्र स्टाइल’ ?

BICC
लाेकपाटी न्यूज

काठमाडौं, ११ माघ । चिकित्सा शिक्षा विधेयक जसरी पनि पारित गर्ने सत्तापक्षको रणनीति र पारित हुन नदिने प्रतिपक्षको अडानका कारण प्रतिनिध सभा बैठकमा शुक्रबार पनि मुठभेडको खतरा बढेको छ ।

नेकपाका प्रभावशाली सांसद योगेश भट्टराईले संसदमा प्रतिपक्षले विधेयक पारित गर्न अवरोध गरेमा ‘रामचन्द्र पौडेल’को नजीर लागू गर्ने बताएका छन् । सभामुखले शिक्षा मन्त्रीलाई विधेयकमाथि छलफल गरिसोय् भनी प्रस्ताव पेश गर्न अनुमति दिएपछि प्रतिपक्षले मन्त्रीलाई रोस्टममा जान अवरोध खडा गरेमा मन्त्रीले आफ्नो सिटबाटै प्रस्ताव पेस गर्नेछन् ।

२०५५ सालमा रामचन्द्र पौडेल सभामुख रहेको समयमा स्थानीय स्वायत्त शासन ऐन पारित गर्ने समयमा यस्तै अवस्था सिर्जना भएको थियो । स्थानीय विकास मन्त्रालयसँग सम्बन्धित विषयमा प्रस्तुत विधयेकका बारेमा तत्कालीन नेकपा एमाले का सांसदहरूले वेल घेरेर मन्त्रीलाई रोस्टममा जान दिएनन् ।

त्यसपछि सभामुख रामचन्द्र पौडेलले ‘माननीय मन्त्रीज्यूलाई उभिएकै ठाउँबाट विधेयक प्रस्तुत गर्न अनुमति दिन्छु’ भनेपछि काँग्रेसका सांसदहरूको सुरक्षाबीच मन्त्री श्रेष्ठले तलैबाट विधेयक प्रस्तुत गरेर पारित भएको थियो । बुधबार रिपोटर्स क्लबमा एमाले सांसद भट्टराईले सोही कुराको संकेत गरेका थिए ।

सभामुख कृष्णबहादुर महराले शुक्रवारको बैठकबाट विधेयक पारित गर्ने बताएका थिए । सत्तारुढ नेकपाका एक सांसदले शुक्रबार जसरी पनि विधेयक पारित गर्ने तयारी रहेको जानकारी दिए । नेकपाले जसरी भएपनि विधेयक पारित गर्न सभामुख कृष्णबहादुर महरालाई दबाब दिएको छ ।

सोमवार नै विधेयक पारित गर्ने सरकारको तयारी रहेपनि नेपाली कांग्रेसको विरोधका कारण पारित हुन सकेको थिएन । आजको बैठकमा पनि विधेयक पारित गर्न नदिने कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बिहिबार पत्रकारहरूलाई बताएका थिए ।

प्रतिपक्षलाई पेलेरै चिकित्सा शिक्षा विधेयक पारित गर्ने कि सहमतिमा लिएर विधेयक पारित गर्ने भन्नेमा सभामुख कृष्णबहादुर महरा धर्मसंकटमा परेका छन् ।

प्रतिपक्षले सभामुख सत्तापक्षको गोटी बन्न खोजेको आरोप लगाएको छ भने सत्तापक्षले समेत सभामुखको नियतमा प्रश्न उठाएको छ ।

मंगलवारको बैठकमै विधेयक पारित गर्नुपर्नेमा सभामुख महराले कांग्रेसको इशारामा बैठक स्थगित गरेको आरोप नेकपाले लगाएको छ । विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्न समय दिएपनि मन्त्री गिरिराजमणि पोखरेललाई कांग्रेस सांसदहरूले घेरेपछि सभामुख महराले मंगलवार संसद्को दोस्रो बैठक पनि स्थगित गरेका थिए ।

चिकित्सा शिक्षा विधेयक रोक्ने रणनीति अनुसार कांग्रेसले आफ्ना नेताको नाम जोडिएका अस्पताल केन्द्र सरकार मातहत ल्याउनुपर्ने निर्णय नहुँदासम्म सदन चल्न नदिने अडान लिएको छ । कांग्रेसले प्रतिपक्षलाई पेलेर विधेयक पारित नगर्न सभामुखको ध्यानाकर्षण गराएको छ ।

‘सभामुख तटस्थ र साझा पद हो, प्रतिपक्ष उभिएको समयमा सदन चलाउने नजीर बसाल्न मिल्दैछ,’ कांग्रेस सचेतक पुष्पा भुसाल भन्छिन् । प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ ।