क-कसलाई दिइयो हवाई भाडामा छुट ?

Aerop;ane
फाइल तस्वीर
लाेकपाटी न्यूज

डोल्पा, १२ माघ । कर्णाली प्रदेशका डोल्पा र हुम्ला जिल्लाका जेष्ठ नागरिकलाई हवाइ भाडामा छुट दिइने भएको छ ।

उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले पहिलो पटक दुई जिल्लाका ६० वर्षमाथिका जेष्ठ नागरिक र पूर्ण रुपमा अपाङ्गता भएका नागरिकलाई हवाइ टिकटमा एक हजार सहुलियत दिन सुरु गरेको हो ।

कर्णालीका अन्य जिल्लामा सडक सञ्जाल जोडि सकेको भएपनि हुम्लामा भने अझै सडक सञ्जालमा जोडिएको छैन । डोल्पा पनि सडक सञ्जालमा पूर्ण रुपमा जोडिएको छैन । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भए अनुसार डोल्पा र हुम्लाका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई छुट दिने गरिएको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताए । उनले भने, ‘चालु आर्थिक वर्षमा हवाई भाडामा छुट दिन एक करोड बजेट बिनियोजन गरिएको छ ।’

प्रदेश सरकारको नीति तथा कार्यक्रममा हिमाली दुई जिल्ला डोल्पा र हुम्लामा हवाइ भाडामा सहुलियत दिने र प्रदेश राजधानी सुर्खेतबाट पहाडी तथा हिमाली जिल्लामा उडान भर्ने जहाजलाई इन्धनमा सहुलियत दिने घोषणा गरिसकेको मन्त्री बुढाले जानकारी दिए ।

जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले परिचय खुल्ने परिचपत्र र सक्कल नागरिकता अनिवार्य बोक्नु पर्ने र हवाइ उडान गर्ने कम्पनीले टिकटमा छुट दिएपछि अभिलेख राखेर मन्त्रालयबाट भुक्तानी लिने कार्यविधिमा उल्लेख गरिएको मन्त्रालयले जानाएको छ ।

सेवा प्रदान गरेबापत जहाज कम्पनीले यात्राबाट बोर्डिङ पास प्रिन्ट वा ई(कपी टिकट राखेर अभिलेख र लेखा परीक्षणसहित पेश गरेर मन्त्रालयबाट भुक्तानी लिने छ। यो सेवा नेपालगञ्ज, सुर्खेत जुनसुकै विमानस्थलबाट यात्रा गरे पनि पाउनेछन्।