डा. गोविन्द केसी : कसको पालामा कति दिन अनसन बसे ?

Dr. Govinda KC
लाेकपाटी न्यूज

काठमाडौं । चिकित्सा शिक्षामा व्यापक सुधारको माग राख्दै आएका डा. गोविन्द केसी र अनशन पर्यायजस्तै बनिसकेको छ । मानिसहरुले अनशन भन्ने बित्तिकै डा. केसीलाई बुझ्न थालेका छन् । कारण- उनको जारी अनशन एक होइन, दुई होइन, १६ औं अनशन हो । डा. केसीले २०६९ सालदेखि अनशन बस्न शुरु गरेका हुन् । जुन अनशन वैशाख २१ गतेदेखि थालिएको थियो । उनको पहिलो अनशन चारदिनसम्म चलेको थियो ।

त्यस्तै दोस्रो अनशन पनि ०६९ सालमै बसिएको थियो । साउन २७ गतेदेखिको अनशनलाई डा. केसीले ६ दिनमै तोडेका थिए । सरसर्ती हेर्दा डा. केसी ०६९ सालमा १० दिन अनशन बसेका थिए ।

डा. केसीको ०७० सालमा दुई पटक बसे । पुस २७ गतेदेखिको अनशन १० दिनको रहेको थियो भने चौथो अनशन माघ २७ गतेदेखि ८ दिनसम्म चलेको थियो । उनी त्यस वर्ष जम्मा १८ दिन अनशन बसेका थिए ।

त्यस्तै डा. केसी ०७१ सालमा पनि अनशन बस्यो । त्यो अनशन उनको पाँचौ थियो । उनी ०७१ फागुन ८ देखि १२ दिनसम्म अनशन बसेका थिए ।

डा. केसी ०७२ सालमा दुई पटक अनशन बसे । छैटौं अनशन ०७२ भदौ ७ देखि १४ दिनको थियो भने सातौ असोज २ देखि १२ दिनको थियो । ०७२ मा उनी जम्माजम्मी २६ दिन अनशन बसे ।

उनी सबैभन्दा बढी अनशन बसेको वर्ष २०७३ हो । त्यस वर्ष उनले ३ वटा अनशन बसे । कूल ४९ दिनको । आठौं अनशनको रुपमा उनी ०७३ असार २६ १५ दिन, नवौं असोज १० देखि १२ दिन र दशौं कात्तिक २८ देखि २२ दिनसम्म बसे ।

डा. केसीले वर्ष २०७४ मा चार वटा अनशन बसे । त्यस वर्ष उनी जम्माजम्मी ४६ दिन अनशन बसेका थिए । एघारौं अनशन साउन १९ देखि २३ दिन, बाह्रौं असोज ९ देखि ३ दिन, तेह्रौं असोज १९ देखि १४ दिन र चौधौं माघ २५ देखि ६ दिनको थियो ।

यस वर्ष डा. केसी दुई पटक अनशन बसेका छन् । पन्ध्रौं अनशन ०७५ साउन १४ देखि २७ दिनको थियो भने सोह्रौं अनशन जारी छ । जारी अनशन उनी पुस २५ गते देखि बसेका हुन् । सरकारले चिकित्सा शिक्षा विधेयक पास गरेपछि डा. केसीले अहिले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म अनशन नतोड्ने बताएका छन् ।

कुन प्रधानमन्त्रीको पालामा कति दिन अनशन बसे ?

डा. केसी ६ वटा सरकारमा अनशन बसे । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, तत्कालीन मन्त्री परिषद्का अध्यक्ष खिलाराज रेग्मी, सुशील कोइराला, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा र केपी ओलीको पालामा उनी अनशन बसे ।

डा. केसी डा. बाबुराम भट्टराईको पालामा २ पटक गरी १० दिन अनशन बसे । त्यस्तै तत्कालीन मन्त्री परिषद्का अध्यक्ष खिलाराज रेग्मीको पालामा २ पटक गरी १८ दिन अनशन बसे ।

सुशील कोइरालाको पालामा डा. केसी तीन पटकगरी ३८ दिन अनशन बसे । पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार रहँदा उनी दुई पटक गरी ३४ दिन अनशन बसे ।

शेरबहादुर देउवाको सरकार रहँदा उनी ४ पटकगरी ४६ दिन अनशन बस्न भ्याए ।
६) केपी ओलीको पालामा उनी ३ पटक अनशन बसे । जसको अवधि ५५ दिन माथि भइसकेको छ । उनको अनशनले कहिले बिट मार्छ त्यो हेर्न बाँकी नै छ ।