डा. केसी समर्थित चिकित्सकविरुद्ध शिक्षामन्त्री पोखरेलको कडा निर्देशन

girirajmani pokharel
लाेकपाटी न्यूज

काठमाडौं, १५ माघ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सकहरुको विरोधका कार्यक्रमप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले मङ्गलबार एक विशेष निर्देशन दिँदै अस्पताल हाताभित्र कुनै पनि बन्द, हड्ताल, धर्ना तथा रिले अनशन बस्न नदिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

‘विभिन्न सञ्चारमाध्यमहरुमा नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले काठमाडौं उपत्यकामा त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल र बाहिरी जिल्लाहरुमा अस्पताल हाताभित्रै रिले अनशन गर्ने विषयमा प्रकाशित समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ निर्देशनमा भनिएको छ, ‘त्रिवि शिक्षण अस्पताल र अन्य शिक्षण अस्पतालमा हुने त्यस्ता किसिमका गतिविधिबाट जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने तथा विद्यार्थीहरुको अध्ययन गर्न पाउने नैसर्गिक अधिकारमाथि प्रत्यक्ष प्रभाव पर्ने देखिएकाले सो विषयमा संवेदनशील भई त्यस किसिमका गतिविधि हुन नदिन आवश्यक व्यवस्था गर्न त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १७ को उपदफा (३) अनुसार निर्देशन गर्दछु ।’

मन्त्री पोखरेलले अस्पताल हुने हाताभित्र बन्द, हड्ताल तथा रिले अनशनजस्ता गतिविधिले जनताको सेवामा प्रभाव पर्ने र विद्यार्थीहरुको अध्ययन गर्न पाउने नैसर्गिक अधिकारमाथि प्रत्यक्ष प्रभाव पर्ने बताएका छन् ।

चिकित्सा शिक्षामा व्यापक सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका निम्ति चिकित्सक संघले सरकारलाई घच्घच्याउन रिले अनशन बस्ने तयारी थालेका थिए ।

सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक-२०७५’ जारी गरेपछि डा. केसीका समर्थनले आफ्ना विरोधका कार्यक्रमहरुलाई अझ तीव्र पारिरहेका छन् ।