काठमाडौं, १७ माघ । प्रमूख प्रतिपक्षी नेपाली काँग्रेसको अवरोधबीच राष्ट्रियसभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ बहुमतले पारित गरेको छ ।
यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रस्तावमा तीन सांसदले संशोधन पेश गरेका थिए । संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसद वृषेशचन्द्र लालले विधेयकलाई संशोधनसहित विधायन समितिमा पठाउन माग गरेका थिए ।
‘सरकारले डा. गोविन्द केसीसँग गरेको सहमति अक्षरशः पालना गर्नुपर्छ, सहमति संविधानविपरीत गरेको भए त्यस्तो सरकार एक मिनेट पनि रहन सक्दैन, संविधानबमोजिम नै सहमति गरेको भए कुन अहं र दम्भले सरकार यसबाट पछि हट्यो ?,’ उनले भने ।
संशोधन प्रस्ताव राखेका सांसदद्वय राधेश्याम अधिकारी र सरिता प्रसाईंले आफूहरु अवरोधसहित विरोधमा रहेकाले भाग नलिने जानकारी गराएका थिए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विधेयकले डा. गोविन्द केसीसँगको सम्झौताको मूलभूत पक्षलाई समेटेको बताए । ‘विधेयकमा आयोग गठनको व्यवस्था रहेकाले चिकित्सा शिक्षा सुधारका लागि अझै काम भइरहनेछ, विधेयक पारित भए पनि डा गोविन्द केसीको जीवनरक्षाका लागि अभिभावकका रुपमा सरकार लागिपर्नेछ,’ उनले भने । सभाको अर्को बैठक यही माघ २० गते अपराह्न १ बजेसम्मका लागि स्थगन भएको छ ।