ट्रम्पविरुद्धको महाभियोगलाई औपचारिकता दिने प्रस्ताव पारित

  • 61
    Shares
0

एजेन्सी। अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्समा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयको छानबिनलाई औपचारिकता दिने प्रस्ताव पारित भएको छ । सो प्रस्तावमा महाभियोग लगाउने विषयमा भइरहेको छानबिनले अझ सार्वजनिक रूप कसरी लिन्छ भन्ने विषय समेटिएको छ ।

डेमोक्रेटहरुको नियन्त्रणमा रहेको तल्लो सदनमा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा समर्थन रहे/नरहेको पहिलो औपचारिक परीक्षण थियो। राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले मतदानको भर्त्सना गरेको छ। प्रस्तावको पक्षमा २३२ मत खसेको थियो भने विपक्षमा १९६ मत परेको थियो ।

सन् २०१६ को निर्वाचनमा झिनो मतान्तरले ट्रम्प विजयी भएका जिल्लाबाट प्रतिनिधित्व गर्ने दुई डेमोक्रेट सांसदले प्रस्तावको विपक्षमा मतदान गरेका थिए। हाउस अफ रेप्रिजेन्टटिभ्सले पारित गरेको प्रस्तावले ट्रम्पका वकिलहरूको अधिकार समेत निर्धारण गरेको छ।

राष्ट्रपति ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जोए बिडेनविरुद्ध भ्रष्टाचारको आरोपमा अनुसन्धान गर्न युक्रेनलाई दबाव दिएको आरोप छ। ट्रम्पले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । सभामूख न्यान्सी पेलोसीले आफ्नो पार्टीले अमेरिकी संविधान र प्रजातन्त्रको रक्षाका निम्ति महाअभियोगको कदम चालिएको दाबी गरेकी छन् ।

बन्द कोठाभित्र सुनुवाइ गरेको भन्दै रिपब्लिकनहरूले डेमोक्रेटहरूको आलोचना गर्दै आएका छन्। यद्यपि सुनुवाईहरुमा रिपब्लिकन समेत सहभागी हुँदै आएका छन् । डेमोक्रेटहरुले अनुसन्धानलाई सार्वजनिक तहमा लैजानुअघि प्रमाणहरू जुटाउन आवश्यक रहेकोमा जोड दिँदै आएका छन् ।

Comments
Loading...
You might also like