Spread the love
  • 709
  •  
  •  
  •  
  •  
    709
    Shares

उमाकान्त लामिछाने : सिंहदरबार विद्रोहका योद्धा (जीवनी)

0
  • प्रा.डा. शाेभकान्त लामिछाने

पूर्वी नुवाकोटको नामले चिनिने साविक स्याङजा जिल्लाको फोग्सिङ शिवालय गाउँ पञ्चायत ४, बीचमा निर्मलपोखरी गाबिस ६ कास्की र हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. २१, फोग्सिङका एक गरिब किसान श्री टिकाराम लामिछानेकी श्रीमती पवित्रा लामिछानेको कोखबाट वि.सं. १९८५ साल चैत्र ३ गते जन्म लिनुभएका उमाकान्त लामिछाने नेपाल आमाका एक सपुत बन्न सफल हुनुभयो र गत वर्ष अथवा २०७५ साल आश्विन २६ गते हामीबाट सदाका लागि विदा हुनुभयो। आज हामीसँग उहाँको गौरवपूर्ण इतिहास मात्र बाँकी छ र आज हामी उहाँको प्रथम वार्षिक स्मृति दिवस मनाइरहेका छौं। यो पुनित अवसरमा हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।

विवाहमुक्त आफ्नो व्यक्तिगत जीवन निस्वार्थ–पूर्वक सामाज उत्थानका लागि ‘नेपाल कम्युनिष्ट पार्टी’ मा नै सर्मपण गर्ने अठोट गर्नुभएका उमाकान्त लामिछाले २०१७ साल पौष १ गते राजा महेन्द्रले राजनीतिक दलहरुमाथि प्रतिबन्ध लगाएपछि, आत्मीय–मित्रहरुको सल्लाहका आधारमा दामपत्य जीवनको प्रारम्भ गर्नुभयो। उहाँका एक भाइ (तेजनाथ), एक स्व. बहिनी (जानुका) एवं एक पुत्र (शोभाकान्त) र एक पुत्री (तुलसीदेवी) छन्। यसका साथै, बुहारी (गौरीदेवी), नाति (सञ्जीव), दुई नातिनी (सविना र सञ्जीता), दुई पनाति (श्रीयाशं र पार्शव) तथा छोरीतर्फ दुई नाति (उज्वल र प्रज्वल) रहेका छन्।

उमाकान्तको बाबुको बाल्यकालमै मृत्यु भएपछि आमाले निमेक गरेर बालबच्चाहरुको प्राण धान्न परेकाले उहाँ बालक अवस्थामा नै स्थानीय साहुको घरमा गोठालोको रुपमा काम गरी पाएको पैसा, आमाको हातमा राखिदिएर सानै उमेरदेखि बिधवा आमाको आँशु पुच्छदै आउनुभएको थियो। गाउँमा बसेर जीवन गुजारा गर्न मुस्किल देखेर भर्खर युवाअवस्थामा प्रवेश गरेका उमाकान्त मुग्लानतर्फ लाग्नुभयो। धेरै हण्डर र कष्टसाध्य अवस्थाहरु पार गर्दै भारतको आसाम पुगेका उमाकान्त आसामको सिलाडबाट भारतीय सेनामा भर्ती हुनुभयो। तर पहिलो पटकको पोष्टिी नै एउटा सैनिक जनरलको आवासमा तोकियो। जर्नेल साहेबको हबेलीमा, सुरक्षाको अलावा घरमा व्यक्तिगत कामहरु लगाउन थालियो, जसले उनलाई सहिनसक्ने गरि जलन हुनपुग्यो र जागिरप्रति नै बितृष्णा जाग्न थाल्यो। यसको प्रतिकार गर्दै उमाकान्तले —यस्तो जागिर खान्न, चाहिँदैन भनि विद्रोह गरे र जागिर छाडी हिडे।

उपरोक्त घटनापछि पराईको देशमा बसेर हुने रहेनछ, आफ्नै देशमा जानुपर्छ भन्ने निष्कर्षमा पुगेका उमाकान्त घर फर्कदै गर्दा सुनौलिमा संयोगवश स्याङ्जा कदमेका खड्गबहादुर गुरुडसँग अचानक भेट भयो। घरको अवस्था हेर्दा घर जान हुने अवस्था नै थिएन, अर्कोतर्फ विदेशमा पनि नेपालीहरुको अवस्था निकै नाजुक देखेका उमाकान्तले आफ्नो अवस्था बताउँदै विकल्पको खोजीमा रहेको बताउनु भयो। त्यस बेला नेपालमा २००७ सालको राणा विरोधी क्रान्तिका विभिन्न स्वरुपका आन्दोलनहरु च्लिरहेको थियो। खड्गबहादुर गुरुडले उहाँलाई त्यस क्षेत्रको आन्दोलनको नेतृत्व गरिरहेका डा.के.आई. सिंहको सम्र्पकमा लानुभयो। उमाकान्तले पनि सिंहमाथि तुरुन्तै विश्वास गरी मुक्ति आन्दोलनमा लाग्नुभयो।

२००७ सालको प्रजातान्त्रिक आन्दोलनमा उमाकान्तले पश्चिम नेपालको भैरहवा मोर्चामा बसेर झण्डै १७ हप्तासम्म लगातार राणा शासकहरुका बिरुद्ध सशस्त्र लडाई लड्नुभएको थियो। तराईमा चलेको किसानहरुको संघर्षले उत्कर्ष रुप लिन थालेपछि स्थानीय सामन्तहरुको भागाभाग हुन थाल्यो। “जमीन कसको, जोत्नेको” भन्ने जस्ता नाराहरु लाग्न थालेपछि राणा र राजा तथा उनीहरुका आसेपासे सामन्तहरुलाई लाग्न थाल्यो कि यो आन्दोलनले कृषि क्रान्तिको रुप लिने भयो। त्यसैकारण, उनीहरु गुहार माग्न भारतको सरणमा पुगे र भारत सरकारको पहलमा दिल्लीमा –राजा, राणा र काँग्रेसबीच फाल्गुण ४ मा एउटा सम्झौता गरियो, जसलाई “दिल्ली सम्झौता” भनिन्छ। दिल्ली सम्झौतालाई अस्वीकार गर्दै उमाकान्तहरुले “क्रान्तिप्रति विश्वासघात” भयो भन्दै हतियार बिसाउन मानेनन्। फलस्वरुप फाल्गुण ८ गते भैरहवामाथि घमासान आक्रमण गरे, जसले गर्दा माल, कचहरी, अमिनि, झ्यालखाना आदि बिभिन्न सरकारी अड्डाहरु नियन्त्रणमा लिन सफल भए। तर, गोश्वारा (बडाहाकिम निवास) भने नियन्त्रणमा आउन सकेन। यस आक्रमणको लगत्तै गृहमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको अनुरोधमा फल्गुण ११ गते आधुनिक हतियारसहित करिब एक हजारको भारतीय सैन्यबल नेपाल भित्र पस्यो र उमाकान्तहरुलाई गिरफ्तार गरी बाँधेर पिट्यो अनि बन्दी बनायो।

प्रजातन्त्रका सेनानी मुक्तिसेनाका जवानहरु स्वतन्त्र नेपालमा विदेशी सैनिकको हस्तक्षेपबाट भैरहवा जेलमा कैद गरियो। २००८ साल असार २५ गतेको मध्यरातमा भैरहवा झ्यालखाना तोडेर उमाकान्तहरु भाग्न सफल भए। भागेको लगत्तै उमाकान्त लगायतका विद्रोहीहरुले रातको २ बजे ब्यारेक माथि पुनःआक्रमण गरे। तर, यथेष्ट हतियारसहित रहेका सरकारी सैनिकहरुका अगाडि गोश्वारा अड्डा कब्जा गर्ने काममा यसपटक पनि सफलता मिलेन। आक्रमणको चौंथो दिन आफ्ना बिरुद्ध दोश्रोपटक दक्षिणतर्फबाट भारतीय सैनिकहरु र उत्तर तर्पmबाट नेपाली सैनिकहरु आउँदै गरेको जानकारी पाएपछि उमाकान्तहरु राति १२ बजेतिर भैरहवाबाट पूर्व परासीतर्फ लागे। परासीमा पनि छद्मभेषी रणनैतिक सैन्य–कौशलको अभ्यास जारी राखे। तर, सरकारी सेनाले यो कुराको सुइको पाएपछि ज्यान बचाउन भनि गुल्मी, बाग्लुङ हुँदै उत्तरतर्पm भाग्दै गर्दा ठाकुरबारी गोठबाट तोरण सम्शेर नेतृत्वको सरकारी टोलीको तर्फबाट राजा त्रिभूवनको नाममा नक्कली पत्र तयार गरी शान्ति सम्झौता गर्न भनी झुक्क्याएर सैन्यबलले छल गरी उहाँहरुलाई गिरफ्तार गरि तानसेन लगेर जेलमा कैद गर्यो। त्यहाँबाट सिंहलाई काठमाडौं लग्यो भने उमाकान्तहरुलाई पुन भैरहवा जेल पठायो। त्यहाँबाट पनि लखेट्दै काठमाण्डौं नख्खु जेलमा कैदीबन्दी बनाई राख्यो।

नख्खुमा बसेको करिब छ महिना पछि २००८ साल माघ ८ गते मंगलबारको मध्यरातमा रक्षादलका साथीहरुको सहयोगले नख्खु जेल ब्रेक गरी उमाकान्तहरु निस्के र उनीहरुकै सहयोगले राति १२ बजे बत्ती निभाई राजधानीमा रहेको प्रमुख सरकारी अड्डा सिंहदरबार कब्जा गरे र पुरै काठमाडौं (राजदरबार बाहेक) नियन्त्रणमा लिए। तर, पछि दुर्भाग्यवश रक्षा दलका कतिपय सैन्य अधिकारीहरु सरकारसँग मिल्न पुगे भने भारतीय सैन्य आगमनको चर्चाले विद्रोही उमाकान्तहरु भाग्नुपर्ने स्थिति आयो, जसले गर्दा माध ९ गते काठमाडौं नै छाडी चीनमा शरण लिने लक्ष्यका साथ नुवाकोट हुँदै केरुङतर्पm लागे। यसरी, प्रजातन्त्रको स्थापनापछि पनि मातृभूमि नेपालबाट बाहिर शरणार्थी बन्न पुगेका उमाकान्तजीको घटना सामान्य रहेन।

हिमाल पार गरी चीन पुग्ने अठोटका साथ अगाडि बढिरहेका उमाकान्तहरुप्रति सदभाव राखेकै कारण स्थानिय बासिहरुले क्षेत्रबिक्रम राणाको कमाण्डमा सरकारी सशस्त्र सेनाको शक्तिशाली पल्टनले पिछा गरिरहेको जानकारी दिए। छापामार शैलीमा गोरखाको लार्केमा आइपुग्दा एक जना सरकारी होम गार्डले आफूहरुका बारेमा जानकारी लिँदै गरेको कुरा थाहा पाउनासाथ ती सन्दिग्ध ब्यक्ति प्रहरी हवल्दारलाई तत्कालै गिरफ्तार गरी विद्रोही उमाकान्तहरुले बन्दी बनाएका थिए। उक्त बन्दीलाई पालैपालो कुर्ने गरिन्थ्यो। माघ मास, बस्तिबिहिन हिमालको ठण्डीमा संयोगवश उमाकान्तको कुर्ने पालो परेको कुनै एउटा रात त्यो कैदी बन्दी भाग्यो। भागेपछि भगाइएको आरोपमा उमाकान्त स्वयं कैदी बनाइए र सैनिक नियम अनुसार उनको जीवन अन्त (शुट) गर्ने योजना बन्यो। यो कुरा थाहा पाउने बित्तिकै विद्रोहीका कमाण्डर खड्गबहादुर गुरुडले उमाकान्तको ज्यान बचाउन मद्धत गरेकाले उहाँले भन्ने गर्नुहुन्थ्यो, खड्गबहादुर मेरो जीवनदाता हो।

केरुडबाट अगाडि बढ्दै गर्दा जताततै हिँउले ढाकिएर बाटोको नाम निशाना थिएन। मानव साङ्लो बनाई अगाडि बढ्दै गर्दा शौच लागेका कारण उमाकान्त अलि पछाडि बस्नुभयो। सौचपछि हिड्दै गर्दाको अवस्थाका बारेमा उहाँ भन्नुहुन्थ्यो –“संयोग यस्तो पर्न गयो कि अचानक हावाले उडाएर ल्याएको कुनै एउटा हिउँको डल्लोले टाउकोमा लागेपछि म पछारिएर बेहोश भएँ र उम्कन नसक्ने गरी हिउँको भासमा परें, जसका कारण उम्कन सक्ने कुरै भएन। तर, साँझपख आउँदै गरेका गोठालाहरुले तानेर ननिकालिदिएको भए म त्यही मर्थें होला।” शरीरमा न न्यानो लुगा छ, न खुट्टामा जुत्ता, यो घटनासहित तीब्बतको झुंगा नामको ठाउँमा हिमालको ठण्डीले बिरामी भई इन्तु न चिन्तु परेका उमाकान्त डेढ महिनापछि आफ्ना अनुयायीहरुका साथ चीनको छेम्डुसमा भेटिदा हात खुट्टाका औंलाहरु चिसोले झरेका र बाँकी रहेका औंलाहरु पनि बटारिएका देखिन्थे।

करिब तीन महिनासम्मको हिउँको यात्रा पछि मात्र चीनको युनान प्रान्तको छेम्डुसमा पुगेपछि चीनियाँ लालसेनाले तातो, चीसो सहितको राम्रो खानपान, न्यानो कपडा इत्यादि सबैको उचीत व्यवस्था गरिएको रहेछ। यसको अलावा लालसेनाले मन छुने किसिमको बोलीचाली, विधि व्यवहार गरेको हुँदा चीनियाँ शासन व्यवस्थाप्रति क्रमशः मन ढल्कदै जानु कुनै नौलो कुरा भएन। त्यहाँ बस्दै गर्दा चीनियाँ भाषाको अध्ययन, चीनियाँ क्रान्तिबारे राजनीतिक प्रशिक्षण, अवलोकन भ्रमण इत्यादिले उमाकान्तको मनभित्र अंकुराएको कम्युनिष्ट बिजारोपण बलियो र मजबुत बन्दै आयो। जसको नतिजा करिब चार वर्षपछि, सहयात्री डा. सिंह राजमुकुटको सर्वोच्चता स्वीकार गरी बिन्तीपत्र चढाई नेपाल फर्के भने उमाकान्तहरु मुक्ति आन्दोलनको सन्देश बोकेर आममाफी भएपछि मात्र स्वदेश फर्के।

२०१२ सालमा नेपाल आए लगत्तै भूमिगत रुपमा पुष्पलाललाई भेटी पार्टी संगठनमा आबद्ध हुनुभयो, आबद्ध भएपश्चात हिक्मतसिंह भण्डारी सचिव रहेको पार्टीको पश्चिम गण्डक प्रान्तीय कमिटीको जिम्मेवारी सम्हाल्न बन्दीपुर आई कृष्णलाल प्रधानसँग भेट गरी पार्टी संगठन बिस्तारमा लाग्नुभयो। बन्दीपुर बसाइको करिब तीन–चार महिनापछि आफ्नो जन्मथलो फोग्सिङ आउनुभएको थियो। घर छोडी हिडेको करिब पन्ध्र वर्षपछि जन्मथलो वा भनौं जन्मघर आउँदा कसैले चिनेनन्। परिचय दिएपछि जब चिने, आत्मीयताले भरपुर हर्षका आँशुले सिञ्चिएको त्यो दुर्लभ ऐतिहासिक दृश्य हेर्नलायक देखिन्थ्यो, भनी उहाँका भाइ लक्ष्मण लामिछाने ताजा स्मरण गर्नुहुन्छ।

जन्मथलो फर्केपछि पनि उमाकान्तले गरेका कामहरु :

  • स्थानीय जनहरुलाई जागरुक गराउन कम्युनिष्ट विचारधाराका ज्ञान र चेतनाका कुराहरु उहाँ स्वयंले गीत गाएर हुन्छ या टेप या भाषण के गर्दा हुन्छ, सम्भाव्य सबै तौरतरिका अपनाई डाँडोमा कम्युनिष्ट जागरणको पहिलो बिगुल फुक्नु भयो। त्यो समयमा उहाँको आगमन या उपस्थिति मात्रले पनि एउटा तरंग पैदा गर्यो, जसले यस भेगकै गाउँ टोलहरुमा जाली–फटाहा र शोषक–सामन्त विरोधी आन्दोलनले नमूनायोग्य उचाई हासिल गर्यो, जसको सिखो वरपरका जिल्लाहरुमा पनि गरियो।
  • विकासको प्रारम्भिक झल्को दिलाउने, चेतनाको दियो, डाँडाको पहिलो स्कूल श्री जनजागृति प्रा.बि. स्थापना गर्ने कामको अगुवाइ गर्नुभयो। २०१३ सालमा गरिएको “माना पाथी सुधार” आन्दोलनको नेतृत्व गर्नुभयो।
  • २०१४ सालमा डा. के.आई. सिंह प्रधानमन्त्री भएपछि सहकर्मी मित्र उमाकान्त लामिछानेलाई स्वयंले बडाहाकिमको जिम्मेवारी सम्हालिदिन आग्रह गरे। तर, उमाकान्तले जनताको मुक्ति–आन्दोलनमा धोका दिनुभयोे भनि ठाडै अस्वीकार गरिदिनु भयो।
  • २०१४ सालमा भएको नेकपाको दोश्रो महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी हुनुहुन्थ्यो। नेपाल कम्युनिष्ट पार्टी, स्याङजा जिल्ला संगठन समितिको संस्थापक हुनुहुन्थ्यो।
  • पेशाकर्मी रहदाँ समेत उमाकान्तजीले पार्टीमा आफ्नो निरन्तर संलग्नता कायम राख्दै हैसियत अनुसारको आर्थिक सहयोग प्रदान गर्दै आइरहनुभयो। पुष्पलाल छउञ्जेल पुष्पलाल खेमामा र उहाँको मृत्युपछि, मनमोहन नेतृत्वको नेकपा (मार्क्सवादी) मा आबद्ध हुनुभयो ।
  • मनमोहन नेतृत्वको नेकपा (मार्क्सवादी) र साहना प्रधान नेतृत्वको पुष्पलाल समूहको नेकपा (मार्क्सवादी) बीच एकीकरण (२०४३) भई बनेको नेकपा मार्क्सवादीमा पनि जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो। २०४६ को राजनीतिक परिवर्तनपछि नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच एकीकरण भई २०४७ सालमा नेकपा (एमाले) को जन्म भयो र त्यस दलमा पनि उमाकान्त जिल्ला कमिटी सदस्यको रुपमा कार्यरत रहनुभयो।
  • पछिल्लो कालखण्डमा पनि नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा उहाँले भरथेग सहयोग पुुर्‍याउनु भयो। उहाँले माओवादी छापामारहरूलाई आवश्यक सूचना दिने, आश्रय दिने र तिनको सुरक्षा एवं संरक्षण गर्ने काम गरिरहनु भयो। परिवर्तनगामी शक्तिको पक्षधर रही संविधान सभा निर्वाचन र त्यसपछिका निर्वाचनहरुमा बयोबृद्ध कमरेड उमाकान्त प्रतिबद्ध भएर क्रान्तिकारीहरुको पक्षमा अग्रपंक्तिमा देखिनुले उही पूरानो बिरासतको झल्को दिलाउँदथ्यो।
  • आज हामीबीच उमाकान्तजी नभए पनि उहाँले देखाएको मार्गरसिद्धान्त जीवित छ र सधैं जीवित रहिरहने छ। त्यो हो हामी कम्युनिष्टहरु आधुनिक इतिहासको सबैभन्दा अग्रगामी परिवर्तनका संवाहक हौं। आज समाज र विश्वलाई फेर्ने अभिभारा हामीमा छ र यस अभिभाराको प्रेरक शक्ति हामी नै हौं। प्रतिक्रान्तिको बिरुद्ध अथक संघर्ष गरेर मात्र हामी कम्युनिष्टहरु समाज, विश्व र आफू स्वयंलाई परिर्वतन गर्न समर्थ हुनेछाैं भन्ने अभिव्यक्ति दिइरहने एवं व्यवहारतः निस्वार्थपूर्वक यस किसिमको दम, ताकत र स्प्रीट बोकी हिडेका एक साहसिक योद्धा हुनुहुन्थ्यो। हार्दिक श्रद्धासुमन कमरेड उमाकान्त लामिछाने।
Spread the love
  • 709
  •  
  •  
  •  
  •  
    709
    Shares
You might also like
Comments
Loading...