‘वाइडबडी प्रकरणमा संलग्नलाई जेल हाल्नुपर्छ‘

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १९ पुस । नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिका सदस्य प्रदीप यादवले विमान खरिदमा ठूलो घोटाला भएको भन्दै बहालवाला मन्त्री, सचिव र महाप्रबन्धकलाई तत्काल बर्खास्त गरी जेल हाल्नुपर्ने बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले आफूहरुले १५ दिन लगाएर वाइडबडी खरिद प्रकरणको सत्यतथ्य बाहिर ल्याएको दाबी गरे । उनले ठूलो मास्टर प्लान बनाएर वाइडबडी खरिदमा घोटाला भएको बताउँदै खरिद गर्दा सार्वजनिक खरिद ऐन पनि नमानेको बताएका छन् । उनले जहाज ‘ग्लोबल टेण्डर’ नगरीकन किनिएको आरोपसमेत लगाए ।

यादवले जहाज खरिदको नाममा युनियनका नेतासमेत गरी ३८ जना भोजभतेर खानको लागि भ्रमणमा गएको दाबी गरे । उनले थपे, ‘भ्रमणको नाममा पनि करोडौं रुपैयाँ भ्रष्टाचार गरिएको छ ।’ उनले जहाज खरिदको ओरिजिनल बिल महाप्रबन्धक सुगतरत्न कंशकार र मन्त्री रवीन्द्र अधिकारीले सार्वजनिक गर्नुपर्ने बताए ।

यादवले तत्काल महाप्रबन्धक कंशकारलाई निलम्बन गर्नुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई हतकडी लगाउनुपर्ने उनको भनाइ छ ।

उनले आफूहरुले बाहिर ल्याएको प्रतिवेदनमा उल्लेखित रू. ४ अर्ब ३५ करोड ५६ लाख रकम घोटाला रकम बढ्ने पनि स्पष्ट पारे । उनले भने, ‘यो आंशिक हो । ओरिजिनल बिल कहाँ गयो ? यो प्रकरणमा जो जो संलग्न छन्, ती सबैलाई कारबाही गर्नुपर्छ ।’

नेकपाका सांसद एवम् संसदको सार्वजनिक लेखा समितिका सदस्य अमनलाल मोदीले वाइडबडी खरिद प्रकरणमा लेखा समितिले भ्रष्टाचार गरेको ठहर गरे जोसुकै भएपनि कारबाहीको भागिदार हुने स्पष्ट पारे । उनले भने, ‘वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिको प्रतिवेदनबारे भोलि लेखा समितिमा छलफल हुन्छ । समितिले भोलि छलफल गरेर निश्कर्ष निकाल्छ । यो प्रतिवेदनमा तथ्य पुगेन भने फेरि पनि नयाँ विषयवस्तुहरुको थालनी हुन्छ । भ्रष्टाचार भएको ठहर भए हामी सम्बन्धित निकायलाई कारबाहीको लागि सिफारिश गर्छौं ।’

उनले वाइडबडी प्रकरणमा संलग्न जाे काेहीलाई कारबाही गर्नुपर्ने बताउँदै भने, ‘मन्त्रीमात्रै होइन, सम्पूर्ण दोषीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’