‘भरतपुरलाई स्मार्ट सिटी बनाउन तथ्याङ्क संकलन सुरु’

Renu Dahal
लाेकपाटी न्यूज
0 Shares

चितवन । भरतपुर महानगरले स्मार्ट सिटी बनाउन तथ्यांक संकलन गर्न सुरु गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्मार्ट सिटी बनाउन तथ्यांक संकलन गर्ने काम सुरु भएको बताएकी छिन् ।

भरतपुर महानगरपालिका स्मार्ट सिटी गुरुयोजना तयारी परियोजना घरधुरी सर्वेक्षण गणक तालिम समापन समारोहमा महानगर प्रमुख दाहालले भरतपुर महानगरलाई स्मार्ट सिटी बनाउन जग खन्ने काम भएको बताइन् ।

समारोहमा प्रमुख अतिथि दाहालले घरधुरी सर्वेक्षण गणकहरुलाई सत्यतथ्य तथ्यांक संकलन गर्न निर्देशन दिँदै भनिन्, ‘आजबाटै भरतपुर महानगरलाई स्मार्ट सिटी बनाउने गृहकार्य सुरु भएको छ, स्मार्ट सिटी बनाउन तपाईंहरुको महत्वपूर्ण भूमिका छ, जिम्मेवारी भएर लाग्नूस ।’

स्मार्ट सिटी बनाउनको वास्तविक तथ्याङ्क लिन भरतपुर महानगरले १०५ जना गणकहरुलाई आजबाट फिल्डमा खटाएको छ । सीटु टेक कन्सल्ट काठमाडौँले १०५ जना गणकहरुलाई ५ दिनको तालिम दिएको हो । तालिको समापन कार्यक्रममा महानगर प्रमुख दाहालले महानगर आजभन्दा २० वर्षपछिको गुरुयोजना बनाएर विकासमा होमिएको बताइन् ।

उनले भनिन्, ‘यसभन्दा अघि कुरामा मात्र सिमित भएको स्मार्ट सिटीको अवधारणा अब प्रारम्भ भएको छ ।’ उनले भरतपुरलाई विश्वले नजिकबाट हेरिरहेको हुनाले दायाँबायाँ गर्ने छुट नभएको बताइन् । दाहालले भनिन्, ‘देशकै केन्द्रभागमा रहेको भरतपुर महानगरलाई स्मार्ट सिटी बनाउन काम अगाडि बढेको छ ।’

तालिम समापन कार्यक्रममा भरतपुर महानगरपालिकाकी आर्किटेक इन्जिनियर अस्मिता खनालले देशको १० वटा सहरलाई स्मार्ट सिटी बनाउने अवधारणाअनुसार भरतपुर महानगर पनि स्मार्ट सिटी निर्माणमा अघि बढेको बताइन् । उनले भनिन्, ‘स्मार्ट सिटीमा सबै कुरा स्मार्ट हुनुपर्छ, त्यो अनुरुप महानगरले गृहकार्य सुरु गरेको छ ।’

फोकल पर्सनसमेत रहेकी खनालले भरतपुर महानगरले स्मार्ट सिटीको अवधारणालाई साकार पार्न गृहकार्य प्रारम्भ गरेको बताइन् । उनले सबै गणकहरुलाई वास्तविक तथ्याङ्क लिन निर्देशन दिएकी थिइन् ।

कार्यक्रमको अध्यक्षता गरेका वडा नं ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले स्मार्ट सिटीको खुड्किलो खन्ने काम सुरु भएको बताए । १०५ जना गणकहरुले २ महिनाको अवधिमा घरधुरी सर्वेक्षण गरिसक्ने सर्वेक्षणका संयोजक वीर्ख क्षेत्रीले जानकारी दिए ।

सोही घरधुरीको सर्वेक्षणअनुसार प्रतिवेदन तयार पारेर स्मार्ट सिटीका योजनाहरु अघि बढ्ने वडाध्यक्ष काफ्लेले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्