डेढ दशकपछि पेट्रोलियम पदार्थको मूल्य निर्धारण

Petrol Pump
लाेकपाटी न्यूज
0 Shares

जुम्ला,२१ पुस । पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा शुक्रबार बसेको सर्वपक्षीय सर्वदलीय बैठकले झण्डै डेढदशकपछि पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरेको हो ।

पेट्रोलियम पदार्थ ल्याउने ट्याङ्करको भाडा, अहिलेको मूल्य, मजदूर ज्याला, छिमेकी जिल्लाको मूल्यलाई विश्लेषण गरेर पेट्रोलियम पदार्थको मूल्य तोकिएको हो ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार पेट्रोलको प्रति लिटर मूल्य रु १३० र डिजेलको प्रति लिटर मूल्य रु ११५ कायम गरिएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु १५० र डिजेल रु १३० सम्ममा किनबेच भइरहेको थियो । पेट्रोलियम पदार्थको मूल्यमा एकरुपता नहुँदा यहाँका सवारी धनी मर्काका थिए ।

मूल्य निर्धारणसँगै अब जताततै पेट्रोलियम पदार्थको कारोबार नहुने प्रजिअ पौडेलले बताए । विसं २०६२ मा कर्णाली राजमार्ग शुरु भएदेखि हालसम्म पेट्रोलियम पदार्थमा महङ्गी र कालोबजारी भइरहेको थियो ।

बैठकले गरेको पेट्रोलियम पदार्थ सम्बन्धीको निर्णय कार्यान्वयन नगर्ने जो सुकैलाई कारवाहीको दायरामा ल्याइने प्रशासनले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्