प्रधानमन्त्रीज्यू, छुट्टै समिति बनाएपछि लेखा समिति खारेज गर्दिनुस् : चौधरी

Chandra Chaudharya
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २१ पुस । संसदको सार्वजनिक लेखा समितिका सदस्यहरुले एक स्वरमा वाइडबडी खरिद प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गरिनुपर्ने स्पष्ट पारेका छन् । उनीहरुले यो प्रकरणमा दोषी देखिने कसैलाई पनि उन्मुक्ति दिन नहुने धारणा राखेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै लेखा समितिका सदस्य एवं राजपा नेपालकी सांसद चन्दा चौधरीले उपसमितिले ल्याएको प्रतिवेदन सोमबार बस्ने लेखा समितिको पूर्ण बैठकले सर्वसम्मतिमा पारित हुने दाबी गरिन् ।

उनले भनिन्, ‘प्रतिवेदनको भाषामा अलिकति तलमाथि भएकाले हामी त्यसमा विचार गरेर अघि बढ्छौं । दोषीलाई कारबाही गर्नुपर्छ भन्ने कुरामा लेखा समितिका हामी सबै सदस्यहरु एकमत छौं ।’

समितिले छानबिन गरेर प्रतिवेदन ल्याइसकेको अवस्थामा सरकारले किन उच्चस्तरीय छानबिन न्यायिक समिति गठन गरेको भनेर चौधरीले प्रश्न गरिन् । उनले भनिन्, ‘यो प्रकरणको रौं समेत पत्ता लगाउने भनेर सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ, यदि यसै गर्ने हो भने लेखा समिति नै डिजल्भ गरिदिए भइगयो नि ।’

उपसमितिले कुनै पूर्वाग्रह नराखिकन प्रतिवेदन ल्याएको उनको दाबी छ । उनले भनिन्,‘दोषीलाई कारबाही हुनुपर्छ । निगमका महाप्रबन्धक कंशकारले नेताहरुपनि छन भनेर सार्वजनिक रुपमा बोलेका छन् । को–को नेताहरु छन् ? आधार र प्रमाणसहित नाम खुलाउनुपर्छ । लिखित रुपमा दिनुपर्छ ।’

नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री सञ्जय गौतमले वाइडबडी खरिद प्रकरणमा भएको घोटालाबारे लेखा समितिले राम्रो परिणाम ल्याउनेमा आफू विश्वस्त रहेको सुनाए ।

गौतमले सार्वजनिक लेखा समिति वा उपसमिति भनेको संसदको ‘मिनि–पार्लियामेन्ट’ भएकोले सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर गलत गरेको गुनासो पोखे । उनले सरकारले संसदीय समितिलाई अवरोध गर्नेगरि हस्तक्षेपकारी कदम चाल्न नहुने धारणा राखे ।

गौतमले भने, ‘सरकारले सार्वभौम संसदलाई अंकुश लगाउने कुरा क्षम्य हुँदैन । लेखा समितिको प्रतिवेदनमा चित्त बुझेन भने सार्वभौम संसदमा छलफल हुनुपर्छ । तर, संसदीय समितिलाई काम गर्न नदिएर दबाबमूलक काम गर्नु हुँदैन ।’

आफूले नै यो प्रकरणमा संसदमा विषय टेबल गराएको पनि उनले जनाए । उनले भने, ‘विमान खरिद प्रक्रिया नै गलत थियो । विमानको भारहन क्षमता नै सम्झौता गर्दा एउटा र ल्याउँदा अर्को छ । २४२ मेट्रिक टन हुनुपर्नेमा जहाज ल्याउँदा २३० मेट्रिक टनमात्रै छ । ९ वटा ट्वाइलेट भएको किन्नुपर्नेमा ७ वटामात्रै भएको किन किनियो ?’ आफूले फेरि पनि यो विषयमा संसदमा कुरा उठाउनेपनि गौतमले जनाए ।

उनले नेपालमा भ्रष्टाचार न्यूनीकरण मात्रै नभएर पूरै समाप्त गर्नुपर्ने धारणा राखे । प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनका लागि अब पूरानो धङधङीबाट हिँडेर नहुने उनको धारणा छ ।