‘वाइडबडी प्रकरण इतिहासकै ठूलो भ्रष्टाचार र कलङ्क’

Bishal Bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, २१ पुस । संसदको सार्वजनिक लेखा समितिका सदस्यहरुले एक स्वरमा वाइडबडी खरिद प्रकरण नेपाली इतिहासकै ठूलो भ्रष्टाचार भएको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लबमा बोल्दै लेखा समितिका सदस्य एवम् नेकपाका सांसद विशाल भट्टराईले वाइडबडी खरिद प्रकरण नेपालको इतिहासमा कलङ्क भएको टिप्पणी गरे । उनले भने, ‘यो नेपालको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचारको नमूना घटना हो । नेपाल एयरलायन्सको इतिहासमा अरु थुप्रै काण्डहरु छन् । वाइडबडी खरिद प्रक्रियामा ठूलो घोटाला भएको छ । ठूलो अनियमितता भएको छ । यसमा कुनै द्धिविधा छैन । दोषीहरुलाई कारबाही गर्नुपर्छ ।’

आफ्नो पार्टीले कसैलाई पनि जोगाउने वा बचाउने काम नगर्ने उनको भनाइ थियो । उनले भने, ‘नेकपाले कसैलाई छुट दिँदैन ।’ यद्यपि उनले लेखा समितिद्धारा गठित छानबिन उपसमितिको प्रतिवेदन संशोधनसहित आउनुपर्ने धारणा राखे । भट्टराईले भने, ‘प्रतिवेदन संशोधनसहित आउँछ ।’

समितिका अर्का सदस्य एवम् नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले उपसमितिले आधारभुत आधारमै प्रतिवेदन ल्याएको जिकिर गरे । उनले यो प्रकरणमा दोषी देखिएका सबैलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताए । उनले भने, ‘कांग्रेसकै नेता भएपनि कारबाही हुन्छ । जीवनबहादुर शाही र जीतेन्द्र देवको सवालमा पार्टीको तर्फबाट कुनै ढाकछोप हुँदैन ।’

समितिकी अर्की सदस्य एवम् राजपा नेपालकी सांसद चन्दा चौधरीले उपसमितिले ल्याएको प्रतिवेदन सोमबार बस्ने लेखा समितिको पूर्ण बैठकले सर्वसम्मतिमा पारित हुने दाबी गरिन् । चौधरीले भनिन्, ‘प्रतिवेदनको भाषामा अलिकति तलमाथि भएकोले हामी त्यसमा विचार गरेर अघि बढ्छौं । दोषीलाई कारबाही गर्नुपर्छ भन्ने कुरामा लेखा समितिका हामी सबै सदस्यहरु एकमत छौं ।’

नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री सञ्जय गौतमले वाइडबडी खरिद प्रकरणमा भएको घोटालाबारे लेखा समितिले राम्रो परीणाम ल्याउनेमा आफू विश्वस्त रहेको सुनाए । लेखा समिति वा उपसमिति संसदको ‘मिनि–पार्लियामेन्ट’ भएकाले सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर गलत गरेको गुनासो पोखे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्