ठोरी र भरतपुर जोडेर पर्यटनको ‘हव’ बनाउँछौं : मेयर दाहाल

renu-dahal
लाेकपाटी न्यूज
0 Shares

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पर्यटन विकासका लागि ठोरी र भरतपुर जोडेर पर्यटनको हव बनाउनुपर्ने बताएकी छिन् ।

‘प्रथम ठोरी महोत्सव’लाई सम्बोधन गर्दै दाहालले ठोरी र भरतपुरलाई हुलाकी सडकमार्फत् जोडेर आन्तरिक तथा बह्य पर्यटकलाई सहज आवगमन गराउन सकिने बताइन् । ठोरी गाउँपालिका प्राकृतिक रुपमा सुन्दर भएपनि पुर्वधार विकासमा अघि बढेको छैन, मेयर दाहालले भनिन्, ‘ठोरीलाई पर्यटकीय गन्तव्यको यहाँका बासिन्दाले चासो दिनुपर्छ । गन्तव्य निर्माणमा भरतपुर महानगरपालिकाले पनि सहयोग गर्छ ।’

भरतपुर र ठोरी ७२ किमिको दुरीमा रहेपनि निकुञ्ज, कच्ची सडकले गर्दा आवत–जावतमा समस्या छ । ठोरी–माडी हुलाकी सडक पक्की भएमा ठोरी पुग्न २ घण्टा समय पनि लाग्दैन । ठोरी भारतसँग जोडिएको बस्ती हो । निकुञ्ज ऐन बाधक भएकाले यो सडक लामो समयदेखि स्तरोन्नति गर्न सकिएको छैन ।

कार्यक्रममा बोल्दै ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले मेयर दाहाललाई ठोरीको प्रमुख समस्याको बारेमा जानकारी गराएका थिए । ‘नदी कटान, सुलभ यातायात, जंगली वन्यजन्तुको त्रास यहाँको समस्या हुन्’ अध्यक्ष श्रेष्ठले भने ।

अध्यक्ष श्रेष्ठले थपे, ‘ठोरीलाई प्रथामिकतामा राखेर पुर्वधारको विकास गर्न सके समग्र देशलाई फाइदा पुग्छ । ठोरीलाई नाकाको रुपमा विकास गर्न केन्द्रले चासो दिनुपर्यो ।’

प्रदेश नम्बर ३ मा ठोरी गाभ्नुपर्ने माग राख्दै ठोरीवासीले लामो समयदेखि अन्दोलन गरिरहेका छन् । ठोरी अहिले पनि प्रदेश नम्बर २, मा पर्छ । राष्ट्रिय गौरवको आयोजना ठोरी केरुङलोक मार्ग, माडी–ठोरी हुलाकी सडकखण्ड निर्माण भए ठोरीको विकासले फड्को मार्ने देखिन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्