‘ओली सरकारलाई सम्पूर्ण रुपले सघाउँछौं’

Rabi Singh businessman
लाेकपाटी न्यूज
0 Shares

भक्तपुर, २१ पुस । निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल पार्न निर्माण व्यवसायीले सरकारको साथ दिने बताएका छन् ।

निर्माण व्यवसायी सङ्घ भक्तपुरको शनिबार भएको १८औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले सरकारको अभियानमा सफल पार्न निर्माण व्यवसायी सदैव अग्रसर रहने उनले बताए । विगतमा व्यवसायी र सरकार दुवै पक्षबाट कमीकमजोरी भएको दाबी गर्दै उनले यस्ता कमीकमजोरीलाई हटाएर गुणस्तरीय र तीव्र विकासका लागि सरकारसँग हातेमालो गरेर अगाडि बढ्न महासङ्घ सदैव तयार भएको भनाइ राखे ।

महासङ्घका अध्यक्ष सिंहले सरकारले निर्माण सामग्रीको आयातमा भएको ‘कार्टेलिङ’को अन्त्य गर्न माग गर्दै यसले निर्माण सामग्रीका मूल्य जथाभावी वृद्धि गर्दा समस्या आएको बताए । कारले वृद्धि गरेको करको मारमा व्यवसायी परेको भनाइ राख्दै उनले सङ्घ, प्रदेश र स्थानीय तीनवटै सरकारलाई कर बुझाउनुपर्ने नियम हटाउन सरकारसँग माग गरे ।

निर्माणमा ढिलाइ हुनु व्यवसायीको मात्रै कारण नभएको दाबी गर्दै उनले भने, “सडकमा भएको एउटा रुख काट्नेदेखि विद्युतको पोल हटाउने प्रक्रिया पूरा गर्न १२ महीना लाग्छ, अनि १८ महीनामा कसरी निर्माण सम्पन्न हुन्छ, झण्झटिलो सरकारी प्रक्रियाको अन्त्य भए निर्माण समयमै सकिन्छ ।”

कार्यक्रममा महासङ्घका महासचिव रोशन दाहाल, महासङ्घका निवर्तमान महासचिव रामशरण देउजालगायतले सरकारले टेण्डर प्रक्रियादेखि निर्माण सम्पन्न नभएसम्म आइपर्ने विभिन्न समस्यालाई समाधान गर्न व्यवसायीको साथ दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपध्यक्ष प्रदीप श्रेष्ठ, सङ्घ भक्तपुरका सल्लाहकार एवं महासङ्घ प्रदेश नं ३ का अध्यक्ष सुवित श्रेष्ठ, सङ्घका निवर्तमान अध्यक्ष राजाराम न्हिसुतुलगायतले निर्माण व्यवसायीलाई आरोप मात्रै लगाउनुभन्दा पनि वास्तविकता बुझ्नुपर्ने औँल्याए ।

कार्यक्रममा सङ्घका अध्यक्ष नीरञ्जन बजगाईंले सङ्घले पुनःनिर्माणदेखि विभिन्न निर्माणका क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे भने सङ्घका महासचिव विजयकुमार देउजाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्