कुटिए कांग्रेस नेता केशरमान

kutpit
लाेकपाटी न्यूज

रुकुम पूर्व, १९ माघ । नेपाली कांग्रेसका नेता केशरमान रोकामाथि कुटपिट भएको छ । रोका सहित नेकपाका नेता सतमान पुन मगर, पुुनिराज घर्ती मगर र नेपाली कांग्रेसका नेता धु्रवकुमार पुन मगर ४ जनामाथि कुटपिट भएको हो । आन्दोलनकारीले शनिवार बिहान कुटपिट गरि ढुङ्गा समेत हानेका हुन् ।

रोकाल रुकुमकोट प्रवेश गर्नु अगाडी रानीकोट भन्ने ठाउँमै आफूहरूमाथि कुटपिट भएकोे बताए । उनले गाडी रोक्न बाटोमा बसिरहेका मानिसहरुलाई देखेर गाडी फर्काएपछि हिँडीरहेको अवस्थामा कुटपिट भएको बताए ।

उनले भने, ‘हामीले कुटपिट नगर्न आग्रह गर्दा पनि झन् कुटपिट गरे । शरीर दुस्खेर हिड्न नसक्ने अवस्थामा छौँ ।’
अर्का पीडित सतमान पुनले आफूहरूमाथि सांघातिक हमला भएको बताए । हाल उनीहरू जिल्ला प्रशासन कार्यालयमा बसेका छन्। प्रहरीको सहयोगमा प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेको रोकाले जानकारी दिए ।

कार्यक्रमको बारेमा प्रशासन सहित सर्वदलीय छलफलका लागि रुकुमकोट जाँदै गर्दा कुटपिट भएको उनीहरूको भनाइ छ ।

रुकुम पूर्वमा जिल्लाको स्थायी सदरमुकाम कायम गर्ने विषयमा विवाद छ । यी ४ जना नेता रुकुम पूर्वको स्थायी सदरमुकाम गोल्खाडा स्थापनार्थ सरोकार समितिका सक्रिय अभियान्ता हुन्। जसको नेतृत्व रोकाले गरेका छन्।

जिल्लाको स्थायी सदरमुकाम गोल्खाडा हुनुपर्ने माग राख्ने समूह एउटा छ भने रुकुमकोट कायम गर्नुपर्छ भन्ने समूह अर्को छ । सदरमुकाम सम्बन्धीको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ ।

२०७४ माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले जिल्लाको स्थायी सदरमुकाम गोल्खाडा कायम गर्ने निर्णय गरेको थियो । गोल्खाडा र त्यस आसपासका सर्वसाधारण सरकारको निर्णय कार्यान्वन गर्नुपर्ने भन्दै आन्दोलनको पक्षमा छन् भने रुकुमकोट र त्यस आसपासका सर्वसाधारण रुकुमकोटमै जिल्लाको स्थायी सदरमुकाम कायम गराउनुपर्ने माग सहित आन्दोलनमा छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्