चीन, १९ माघ । अमेरिकाले दशकौं पहिले रूससँग गरेको मध्यम दूरीको आणविक हतियार सन्धि (आइएनएफ)बाट फिर्ता हुने निर्णय गर्नु बेठीक भएको चीनले जनाएको छ ।
शनिबार चिनिया विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले भने, ‘चीनले अमेरिकाद्वारा आइएनएफ सन्धिबाट फिर्ता हुने निर्णयप्रति असहमति जनाएको छ र अमेरिका र रूसले यसबारे देखिएका आफ्ना भिन्नतालाई रचनात्मक वार्ताका माध्यमबाट सही तरिकाले समाधान गर्न आग्रह गरेको छ ।’
संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले शुक्रबार अमेरिकाले शनिबारदेखि लागू हुनेगरी सन्धिलाई अमान्य घोषणा गरेको बताएका थिए ।
अमेरिकाले यस सन्धिबाट फिर्ता भएको जनाएपनि यसबाट प्रक्रियागत रूपमा बाहिरिन कम्तिमा छ महिनाको समय लाग्नेछ ।
उक्त अमेरिका तथा तत्कालिन सोभियत संघबीचको शीत युद्धका समय सन् १९८७ मा गरिएको थियो ।
‘हतियार नियन्त्रण तथा निशस्त्रीकरणका लागि महत्वपूर्ण मानिने अमेरिका र तत्कालिन सोभियत संघबीच भएको सन्धिले विश्वका प्रमुख शक्तिराष्ट्रबीचको सम्बन्धलाई सहजिकरण गरेको, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्तिलाई प्रोत्साहन गरेको तथा विश्वव्यापी रणनीतिक सन्तुलन र राजनीतिक स्थायित्वका लागि सुरक्षित रहेको चीनको धारणा रहँदै आएको छ,’ गेङले भने ।
‘एकतर्फी रूपमा अमेरिकाले गरेको यो निर्णयले ऋङ्खलावद्ध रूपमा नकारात्मक नतिजा निम्त्याउने सम्भावना रहेको बताउँदै चीनले यसबाट विकसित घटनाक्रमलाई सावधानीपूर्वक पछ्याउने छ,’ उनले भने ।
उनलाई नयाँ बहुपक्षीय सन्धिका सम्बन्धमा चीनको अडान के रहेको छ भन्ने प्रश्नमा उनले भने, ‘चीन सन्धिको बहुपक्षीयकरणको विपक्षमा रहेको छ ।’